जङ्गलको मुडादेखि वार्षिक दुई क्विन्टल महसम्म: बैतडीका प्रेमबहादुरको २५ वर्षे व्यावसायिक यात्रा…
बैतडी । बैतडीको सुर्नया गाउँपालिका–७ छिडाका प्रेमबहादुर बिष्टको घर वरिपरि मौरीका घारहरू लहरै देखिन्छन्।

घरको भित्तामा मात्र नभई भान्साकोठा, चर्पीको छत र ओत लाग्ने भिर पाखासम्म मौरीका घार राखिएका छन्।
विगत २५ वर्षदेखि परम्परागत रूपमा मौरीपालन गर्दै आउनुभएका बिष्टले हाल करिब ७० वटा घारमा स्थानीय जातका मौरी पाल्नुभएको छ। उहाँले वार्षिक दुई क्विन्टल मह उत्पादन गर्दै आउनुभएको छ।
मौरीपालन सानो स्तरबाट सुरु गरेर विस्तार गर्दै हालको अवस्थामा पुर्याएको उहाँले बताउनुभयो। घरको भित्तामा सबै घार अटाउन नसकेपछि चर्पीको भित्ता, छत तथा बाटोछेउका भिर पाखामा समेत घार राख्नुपरेको उहाँको भनाइ छ।

बिष्टले स्थानीय जङ्गलबाट ल्याइएका काठका मुडाबाट घार निर्माण गर्नुभएको छ। श्रीमती र छोराछोरीसहित ६ सदस्यीय परिवारको जीविकोपार्जनमा मौरीपालन व्यवसायले महत्वपूर्ण योगदान पुर्याएको उहाँले बताउनुभयो।
वर्षमा दुई पटक मह निकाल्ने गरेको उल्लेख गर्दै उहाँले चैत–वैशाख र कात्तिक–मंसिरमा मह सङ्कलन गर्ने गरिएको जानकारी दिनुभयो। एक पटक मह निकाल्दा एक क्विन्टलभन्दा बढी उत्पादन हुने उहाँले बताउनुभयो।
उत्पादित महले राम्रो बजार पाउँदै आएको बिष्टले बताउनुभयो। स्थानीय बजारसँगै जिल्ला बाहिरसमेत मह बिक्री हुने गरेको र माग बढ्दो रहेकाले व्यवसाय विस्तारको सम्भावना रहेको उहाँको भनाइ छ।

यद्यपि, परम्परागत तरिकाले मौरीपालन गर्दा विभिन्न चुनौतीहरू सामना गर्नुपरेको उहाँले बताउनुभयो। स्थानीय काठका घारमा जङ्गली जनावर मलसाप्रोले मौरी खाने गरेको तथा वर्षायाममा चिसोबाट जोगाउन कठिन हुने गरेको उहाँको भनाइ छ। बाटोछेउ र भिर पाखामा राखिएका घारमा मौरी संरक्षण गर्न झन् बढी समस्या हुने उहाँले बताउनुभयो।
मौरीपालनको ‘हब’ बन्ने सम्भावना, तर बजेट शून्य
लामो समयदेखि मौरीपालन व्यवसायमा संलग्न रहे पनि हालसम्म कुनै निकायबाट सहयोग नपाएको बिष्टले गुनासो गर्नुभयो। प्राविधिक तथा व्यावसायिक तालिम प्राप्त भए व्यवसाय थप विस्तार गर्न सकिने उहाँले बताउनुभयो।
“मैले कुनै किसिमको तालिम वा अनुदान पाएको छैन। अनुदानका लागि कतै धाउने पनि गरेको छैन,” उहाँले भन्नुभयो।

आधुनिक घार तथा मौरी पालनसम्बन्धी तालिम र सहयोग प्राप्त भए व्यवसाय विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो।
स्थानीय वीरेन्द्र बिष्टले छिडामालम क्षेत्र मौरी पालनका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभयो। प्राकृतिक हिसाबले अनुकूल वातावरण भएकाले यस क्षेत्रलाई मौरी पालनको हबका रूपमा विकास गर्न सकिने उहाँको भनाइ छ। उहाँ स्वयंले पनि १५ वटा घारमा मौरीपालन गर्दै आउनुभएको छ।

सुर्नया गाउँपालिकाका कृषि प्राविधिक नरेश बिष्टले मौरीपालन किसानका लागि गाउँपालिकाले हालसम्म छुट्टै बजेट विनियोजन नगरेको बताउनुभयो।
यस्तै, कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी महेश पाण्डेयले यस आर्थिक वर्षमा मौरीपालन किसानलाई लक्षित गरी छुट्टै बजेट व्यवस्था नभएको जानकारी दिनुभयो।







प्रतिक्रिया राख्नुहोस्