आलुमा डडुवा रोग देखिएपछि शैलुङका किसान चिन्तित

दोलखा । आलुको लागि देशैभरि चिनिएको दोलखाको शैलुङ क्षेत्रका किसानहरु अहिले चिन्तित छन् । आलु खन्ने बेलामा बोट ओइलिएको र पात सुक्ने समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर– ६ सदुङका स्थानीय किसान तारा बहादुर श्रेष्ठ आलुको बोटमा समस्या देखिएकोले उत्पादन घट्ने चिन्ताले पिरोलेको बताउनुहुन्छ । विगत वर्षहरूमा आफु र घरपरिवारका अन्य सदस्यहरुले १०÷१२ लाखसम्मको आलु बिक्री गर्दै आएकोमा यो बर्ष ५÷६ लाखको बिक्री गर्न पनि मुश्किल देखिएको तारा बहादुरको भनाई छ ।
“आलु खन्ने बेला भएको छ”, तारा बहादुरले भन्नुभयो– “तर बोट ओइलिएको र माटो कोट्याएर हेर्दा आलुको दाना समेत सानो देखिएकोले उत्पादन घट्ने पक्का छ ।” यो बर्ष गत वर्षहरूको भन्दा आधा नै उत्पादन घट्ने अवस्था देखिएको उहाँले बताउनुभयो ।
वडा नम्बर– ६ सदुङकै अर्को किसान कुमारी तामाङ यो बर्ष पानी धेरै परेको र असिनाले समेत नोक्सानी गरेकोले आलु उत्पादन घट्ने बताउनुहुन्छ । दिन– प्रतिदिन महँगी अकासिँदै गएको तर आलु उत्पादन भने घट्ने अवस्था बनेकोले पारिवारिक गुजारा मै समस्या हुने अवस्था देखिएको कुमारी बताउनुहुन्छ ।
यो बर्ष आलु मात्र नभै शैलुङ क्षेत्रमा काउली, बन्दा, गाँजर लगायतका तरकारी बालीमा समेत समस्या देखिएको उहाँले बताउनुभयो । सेतो मुलामा भने अहिलेसम्म समस्या नदेखिएको कुमारीको भनाई छ ।
शैलुङ क्षेत्रमा विशेष गरी रोजिटा जातको आलु लगाउने गरिएको छ । केहीले भने निलो, खुमल रातो लगायतका जातको आलुसमेत लगाउने गरेका छन् । यो बर्ष धेरैले रोजिटाको सट्टा खुमल रातो आलु लगाएकोले समस्या आएको हो की भन्ने आशङ्का गरिएको स्थानीय सेतीमाया तामाङ बताउनुहुन्छ ।

आलुबाली विकास केन्द्र निगालेका सूचना अधिकारी बाली संरक्षण अधिकृत राजन धमनीया यो बर्ष शैलुङलगायत पहाडी भेगका धेरै क्षेत्रमा आलुमा समस्या देखिएकोले उत्पादन घट्ने अवस्था रहेको बताउनुहुन्छ ।
अहिलेको समस्या आलुको जातको कारणले नभै अत्यधिक पानी परेर डडुवा रोग देखिएकोले भएको आलुबाली विकास केन्द्र निगालेका सूचना अधिकारी बाली संरक्षण अधिकृत धमनीयाले बताउनुभयो । डडुवा रोगका कारण यो बर्ष ४० प्रतिशतसम्म उत्पादनमा कमी आउनसक्ने अनुमान गरिएको धमनीयाको भनाई छ ।
शैलुङ क्षेत्रका किसानले अघिल्ला वर्षहरू मा २/३ लाखदेखि १५/२० लाखसम्मको आलु बिक्री गर्दै आएका छन् । गतबर्ष शैलुङ क्षेत्रबाट मात्र झण्डै ४० करोडको आलु निर्यात भएको स्थानीय किसानहरूको भनाई छ । तर यो बर्ष भने २०÷२५ करोडको आलु पनि निर्यात नहुने अवस्था देखिएको शैलुङ गाउँपालिका वडा नम्बर– ३ ढुङ्गेका किसान पूर्ण बहादुर खड्का बताउनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्