तपाईँ सुन्दै हुनुहुन्छः

सांसदहरूको अवरोधपछि राष्ट्रिय सभाको बैठक जेठ २८ मा बस्ने गरि स्थगित

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक पनि प्रतिपक्षी दलका सांसदहरूको अवरोधका कारण जेठ २८ गते बिहीबार १ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीअनुसार बैठक अगाडि बढाउन आग्रह गर्नुभए पनि प्रतिपक्ष दलका सांसदहरूको विरोध जारी रहेकोले बैठक स्थगित भएको हो ।  

अध्यक्ष दाहालले जनताले अनुभूति गर्ने गरी सरकार र राजनीतिक दलहरूबीच पर्याप्त परामर्श हुन नसकेको र सदनमा नाराबाजी गरि पटक पटक बैठक स्थगित गरिनुपर्ने अवस्थाले सम्पूर्ण नेपाली जनता र सिङ्गो देश नै प्रभावित बनेको बताउनुभयो ।

अध्यक्ष दाहालले सबैको साझा समस्या समाधान गर्न सरकारको तर्फबाट पनि तत्परताका साथ समय सापेक्ष रूपमा समस्या सम्बोधन हुनुपर्ने भनी उपस्थित मन्त्रीहरूको ध्यानाकर्षण गराउनुभयो ।

बैठकमा सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भनी दिनुभएको अभिव्यक्तिको सरकारी तहमा कुनै प्रमाण नभएकाले यस्तो संवेदनशील विषयमा बोल्दा सन्धि तथा ऐतिहासिक दस्ताबेजलाई आधार बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले राष्ट्रिय अखण्डता, संविधान, सुरक्षा निकाय तथा छिमेकी राष्ट्रसँगको सम्बन्धमा असर पर्ने खालको अभिव्यक्ति प्रधानमन्त्री शाहले दिनुभएको आरोप लगाउँदै त्यो अभिव्यक्ति फिर्ता लिएर सदनमा सम्बोधन गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरुले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरिसकेको आर्थिक विधेयकबाट १६ पृष्ठ हटाइएको, करको दरभाउमा हेरफेर गरिएको तथा नेपाल राजपत्र तथा संसदीय प्रणालीसँग सम्बन्धित कागजात वेबसाइटबाट हटाएर पुनः प्रस्तुत गरिएको विषयमा यस्को छानविन र जबाफदेहिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button