वीरगन्ज महानगर प्रमुख सिंहसहित ७ जना विरुद्ध मुद्दा दायर
वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहसहित सात जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । अरूको छोरीलाई आफ्नी छोरी दाबी गरी झुटो विवरणका आधारमा नेपाली नागरिकता दिलाएको आरोपमा अख्तियारले आज नगर प्रमुख सिंह सहित ७ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

नगर प्रमुख सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरी रुविना भट्टराईलाई रुविना श्रेष्ठ बनाएर नागरिकता दिलाएको बताइएको छ ।
०७१ कात्तिक २० गते वीरगन्ज– ३ को कार्यालयमा रुविना श्रेष्ठको झुटो विवरण राखी जन्मदर्ता प्रमाणपत्र बनाइएको र सोही जन्मदर्ता प्रमाणपत्रका आधारमा वडाबाट सिफारिस गराई जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७५ साउन १३ गते नागरिकता जारी गरिएको आरोप पत्रमा उल्लेख छ ।
त्यसैगरी, तत्कालीन वडासचिव भिखारी राय र तत्कालीन वडा सदस्य एवं कार्यवाहक वडाध्यक्ष तैफुल अख्तर ठकुराइमाथि जानी–जानी गलत सरकारी कागजात (जन्मदर्ता र नागरिकता सिफारिस) तयार पारेको अभियोग छ ।
गलत विवरणका आधारमा नागरिकता जारी गर्ने प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी कायम गरिएको छ ।
गृह मन्त्रालयका (छानबिन समितिका संयोजक र सदस्य) तत्कालीन उपसचिव पुस्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
भ्रष्टाचारमा मुद्दा दायर भएपछि महानगरपालिका प्रमुख रहेका सिंह स्वतः निलम्बनमा पर्नुभएको छ ।







प्रतिक्रिया राख्नुहोस्