तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगञ्जमा दुई दिने ‘प्रविधि राष्ट्रिय सम्मेलन’ सुरु

नेपालगञ्ज । नेपालगञ्जमा आजदेखि दुई दिने ‘प्रविधि राष्ट्रिय सम्मेलन’ सुरु भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा सुरु भएको सम्मेलनको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उद्घाटन गर्नुभयो । 

मन्त्री तिमिल्सिनाले देश, समाज र राष्ट्र निर्माणको मुख्य आधार युवा र प्रविधिमैत्री शिक्षा रहेको बताउँदै सकारात्मक सोचका साथ सकारात्मक ऊर्जा र भावनाले प्रविधि र सामाजिक सञ्जालको प्रयोग गरी आयआर्जनको मुख्य श्रोत बनाउन सकिनेमा जोड दिनुभयो । उहाँले विदेश जानुपर्ने बाध्यता अब कम हुने भन्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय प्राविधिक शिक्षाको हब बन्ने धारणा समेत राख्नुभयो । 

‘रूपान्तरणका लागि प्रविधि: लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि (आइटी) समाधान–२०२६’ नारासहित सम्मेलन आयोजना गरिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा। निरज केसीले जानकारी दिनुभयो । डा। केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् । 

विश्वविद्यालयका उपकुलपति प्रा. डा. विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने बताउनुभयो । विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उहाँले जानकारी दिनुभयो । विश्वविद्यालयका कुल सचिव सहप्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबिचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताउनुभयो । सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषय विज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button