नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँ : मन्त्री खनाल
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल(भारतबीचको सम्बन्धलाई नयाँ शिराबाट थप विस्तार र सुदृढ गर्न सरकार तत्पर रहेको बताउनुभएको छ ।

भारतीय च्यानल ‘एनडिटिभी’सँग आज विशेष संवाद गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थापनाको करिब चार वर्षकै अवधिमा जनचाहना र समर्थनबाट सरकारको नेतृत्वमा पुगेको उल्लेख गर्दै दुई देशको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न सरकार तत्पर रहेको बताउनुभयो ।
नेपाल र भारतबीच खुला सीमाना भए पनि एकले अर्को देशको सुरक्षा सरोकारलाई आत्मसात् गरेको उल्लेख गर्दै मन्त्री खनालले दुई देशको बहुआयामिक र हार्दिक सम्बन्धलाई अझै विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
मौरिससमा भएको कार्यक्रममा आफू र भारतीय समकक्षी एस जयशङ्करसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै उहाँले सम्भव भएका सबै क्षेत्रमा सहकार्य गर्नुपर्ने बताउनुभयो । मन्त्री खनालले व्यापार, ऊर्जा, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि र सम्पर्क सञ्जाल लगायत क्षेत्रमा नेपालले भारतको सहयोग, लगानी र सहकार्यको अपेक्षा गरेको धारणा राख्नुभयो ।
रास्वपा सभापति रवि लामिछानेको हालैको भारत भ्रमणका क्रममा भारतीय जनता पार्टी र सरकारबाट भएको भव्य स्वागतले दुई देशबीचको आपसी सम्बन्धलाई नयाँ उचाइमा लिन उत्प्रेरणा मिलेको उहाँको भनाइ थियो ।
नेपालमा रेलमार्ग विस्तार, शैक्षिक संस्थाको विकास र प्रविधि विस्तारमा चाँडै ठोस सहकार्यका लागि सहमति हुने मन्त्री खनालको विश्वास थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्