तपाईँ सुन्दै हुनुहुन्छः

थारु संस्कृति र प्राकृतिक सम्पदाको संगम बनेका बर्दियाका होमस्टे

बाँके । बर्दिया जिल्ला प्राकृतिक सौन्दर्य, जैविक विविधता र समृद्ध थारु संस्कृतिको अनुपम संगमका रूपमा परिचित हुँदै गएको छ। वन्यजन्तु, नदी, ताल, धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण बर्दिया पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको प्रमुख गन्तव्य बनेको छ। यहाँ सञ्चालनमा रहेका सामुदायिक तथा निजी होमस्टेहरूले स्थानीय संस्कृति, परम्परा र पर्यटनलाई एकै सूत्रमा बाँध्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएका छन्।

प्राकृतिक र सांस्कृतिक सम्पदाले सम्पन्न बर्दियामा आउने पर्यटकलाई होमस्टेहरूले स्थानीय जीवनशैली, परम्परागत खानपान, सांस्कृतिक प्रस्तुति तथा आत्मीय आतिथ्यताको अनुभव प्रदान गर्दै आएका छन्। यही कारण पछिल्ला वर्षहरूमा होमस्टे पर्यटनप्रति पर्यटकको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ।

जिल्लामा हाल जनक नगर, गोविन्दपुर, गोब्रेला, ठाकुर बाबा मध्यवर्ती, डल्ला जैविक मार्ग, रम्बापुर, सतखलुवा, सोनारा र लक्ष्मणपुर सामुदायिक होमस्टे गरी नौ वटा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन्। यसका अतिरिक्त निजी होमस्टेको संख्या पनि निरन्तर बढ्दो क्रममा रहेको छ।

होमस्टे सञ्चालक तिलकराम थारुका अनुसार होमस्टे पर्यटनले गाउँघरमै रोजगारी सिर्जना गर्नुका साथै स्थानीय उत्पादनको बजारीकरण र सांस्कृतिक संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको छ। 

बर्दियाका प्रमुख पर्यटकीय गन्तव्यहरूमा बर्दिया राष्ट्रिय निकुञ्ज ,कृष्णसार संरक्षण क्षेत्र,  कर्णाली पुल, गेरुवा इन्टेक, बडैयाताल, सतखलुवा ताल तथा केदारेश्वर धाम रहेका छन्। विशेष गरी नेपालको सबैभन्दा लामो पुलका रूपमा परिचित कर्णाली पुल तथा बर्दिया राष्ट्रिय निकुञ्ज वन्यजन्तु अवलोकनका लागि पर्यटकको रोजाइमा पर्ने गरेका छन्।

पर्यटन व्यवसायसँग सम्बन्धित स्रोतहरूका अनुसार बर्दियामा आउने पर्यटकमध्ये करिब ९० प्रतिशत स्वदेशी र १० प्रतिशत विदेशी पर्यटक रहेका छन्। प्राकृतिक सौन्दर्यसँगै थारु समुदायको मौलिक संस्कृति पर्यटक आकर्षणको अर्को महत्वपूर्ण आधार बनेको छ।

थारु समुदायका परम्परागत मगौटा, लाठी, झुम्रा र सखिया नाचले पर्यटकलाई स्थानीय संस्कृति र जीवनशैलीसँग नजिकबाट परिचित गराउने गरेका छन्। होमस्टे सञ्चालक गोविन्द थारु र रेणुका थारुका अनुसार सांस्कृतिक कार्यक्रमहरू पर्यटकका लागि विशेष आकर्षण बन्नुका साथै नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने प्रभावकारी माध्यम पनि बनेका छन्।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा आसपासका सामुदायिक वन क्षेत्र वन्यजन्तु अवलोकनका लागि विश्वमै परिचित मानिन्छन्। यहाँ दुर्लभ पाटेबाघ, एकसिङ्गे गैँडा, जङ्गली हात्ती, चितुवा, डल्फिन, कृष्णसार, चित्तल लगायतका वन्यजन्तु अवलोकन गर्न सकिन्छ। प्राकृतिक वातावरण, जैविक विविधता र सांस्कृतिक सम्पदाको संयोजनले बर्दियालाई विशिष्ट पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ।

होमस्टे सञ्चालक तथा होमस्टे महासङ्घका केन्द्रीय सदस्य राजकुमार चौधरीका अनुसार होमस्टे व्यवसायले दुर्गम गाउँलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button