तपाईँ सुन्दै हुनुहुन्छः

आगामी आर्थिक वर्षको लागि खेलकुदतर्फ ४ अर्ब ३ करोड बजेट

काठमाडौँ । नेपाल सरकारले खेलकुदतर्फ आगामी आर्थिक वर्षको लागि ४ अर्ब ३ करोड बजेट छुट्टाएको छ । बजेटमा खेलकुद पूर्वाधार निर्माण, युवा विकास र खेलाडीको सामाजिक सुरक्षालाई विशेष प्राथमिकतामा राखिएको छ ।

त्यस्तै, आगामी ३ वर्षभित्र फुटबलका आठ हजार दर्शक क्षमताका मैदानमा १० वटा फ्लड लाइट जोड्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत यो घोषणा गर्नुभएको हो ।

त्यस्तै, सरकारले आगामी ५ वर्ष भित्र देशका प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला बनाउने घोषणा पनि गरेको छ ।  विराटनगर, सुर्खेत, बुटवल, लहान, धनगढी र पोखरामा २ हजार क्षमताको इन्डोर कभर्डहल तीन वर्षभित्र बनाउने घोषणा गरिएको छ ।

मुलपानी क्रिकेट रंगशाला तथा एकेडेमी, गिरिजाप्रसाद कोइराला रंगशाला र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिजाइन परिवर्तन गरि लगानी मोडालिटी तयार गर्ने जनाएको छ । 

त्यस्तै, विद्यार्थीलाई विद्यालयबाटै खेलकुदको तालिम दिने र अन्तर्राष्ट्रिय पदक जित्ने खेलाडीलाई अवकाश प्राप्त पछि आजीवन निःशुल्क स्वास्थ्य उपचार गर्ने घोषणा भएको छ । यस्तै, कर्णाली प्रदेशमा आयोजना हुने दशौं र मधेशमा हुने एघारौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधारको लागि बजेट छुटाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button