गणतान्त्रिक व्यवस्थाले नागरिकका जीवनमा सार्थक परिवर्तन ल्याउनुपर्छ : प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले गणतान्त्रिक व्यवस्थाले नागरिकको जीवनस्तरमा रूपान्तरण ल्याउनुपर्ने बताउनुभएको छ ।

१९औँ गणतन्त्र दिवसका अवसरमा शुक्रबार गण्डकी प्रदेश सरकारद्वारा पोखरामा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकाङ्क्षा पूरा हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
बिना भेदभाव सबै नागरिकलाई समान हक, समान अवसर र समान हैसियत प्रदान गर्ने संवैधानिक सुनिश्चितता हुन सक्नु गणतान्त्रिक व्यवस्थापनको गौरवको विषय रहेको उहाँले बताउनुभयो । मुलुकको भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेश प्रमुख भट्टले ऊर्जावान् युवाशक्तिलाई स्वदेशमै रोजगारी र उद्यमशीलताको वातावरण तयार गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । समारोहमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पछिल्लो समय गणतन्त्रलगायत राजनीतिक उपलब्धिलाई कमजोर पार्ने प्रयास भएको भन्दै त्यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । गणतन्त्रले नागरिकका जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनुपर्ने उहाँको भनाइ छ ।
मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल, आत्मनिर्भर तथा समाजवादउन्मुख अर्थतन्त्रसहितको विकसित राष्ट्रका रूपमा अगाडि बढाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो । गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले गणतन्त्रवादी शक्तिहरूबीच एकता र सहकार्यमा जोड दिनुभयो । उहाँले गणतन्त्रलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पूर्वमुख्यमन्त्री एवं नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले गणतन्त्रका उपलब्धिलाई जरैदेखि बलियो र संस्थागत गर्नुपर्ने बताउनुभयो ।
विपक्षी दलका नेता हरिबहादुर चुमानले न्याय, समानता र स्वतन्त्रताका लागि गणतन्त्रवादीहरूले ठूलो त्याग र बलिदान गरेको बताउनुभयो । राज्यले सामाजिक न्याय र समावेशी विकासमा जोड दिनुपर्ने उहाँको भनाइ छ । उक्त समारोहमा उत्कृष्ट शिक्षक, कृषक, समाजसेवी, पत्रकार, व्यवसायी, घरबास सञ्चालकलगायतलाई सम्मान गरिएको थियो ।
रासस








प्रतिक्रिया राख्नुहोस्