बजेट सुशासनको मानक बन्नेछ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताउनुभएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उहाँले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया र नेतृत्वमा सुधार गर्दै सुशासन कायम गर्ने बताउनुभएको हो ।

“नीतिगत अनिर्णय, ढिलासुस्ती, संस्थागत कब्जा तथा राज्य स्रोतको दोहन अन्त्य गर्दै परिणाममुखी शासन प्रणाली निर्माण गर्नु अहिलेको आवश्यकता हो”, उहाँले भन्नुभयो । हाम्रो मुलुक वृहद आर्थिक सुधारको निर्णायक मोडमा उभिएको उल्लेख गर्दै उहाँले मुलुकको अर्थतन्त्रमा व्यापक सुधार र सुशासनमा बजेट केन्द्रित रहेको बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षको बजेट त उत्पादनमुखी अर्थतन्त्र, सुशासन र प्रविधिमैत्री विकासमा केन्द्रित रहनेछ ।
अर्थमन्त्री वाग्लेले वर्तमान सरकारलाई प्राप्त जनादेशलाई असाधारण जिम्मेवारीका रूपमा लिएको उल्लेख गर्दै राज्यको चरित्र, शासकीय संस्कार र अर्थतन्त्रको स्वरूप रूपान्तरण गर्ने दिशामा सरकार अघि बढेको बताउनुभयो । बजेटलाई केवल संवैधानिक औपचारिकता नभई नीतिगत रूपान्तरणको विश्वसनीय दस्ताबेजका रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ छ ।
बजेटमा सूचना तथा सञ्चार, कृत्रिम बौद्धिकता, वित्त, व्यापार, लगानी तथा विश्वभर फैलिएको नेपाली समुदायको सामूहिक सामर्थ्यलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिएको उहाँको भनाइ छ । सरकारले नयाँ प्रविधिको उपयोगमार्फत समन्वित आर्थिक वृद्धिको नयाँ संरचना निर्माण गर्ने लक्ष्य लिएको जनाएको उहाँले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्