तपाईँ सुन्दै हुनुहुन्छः

बालुवामा फलेको सपना: उदयपुरमा व्यावसायिक खरबुजा खेतीको आकर्षण

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेतीले यतिबेला स्थानीयको ध्यान खिच्न थालेको छ । केही वर्षअघिसम्म नदी कटानका कारण उपयोगविहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । त्यही जमिनमा स्थानीय युवा कृषक पुलकित चौधरीले व्यावसायिक रूपमा खरबुजा खेती सुरु गरेर उदाहरणीय काम गर्नुभएको हो ।

गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला चौधरीले करिब ६ बिगा क्षेत्रफलमा यसको खेती गर्नुभएको छ । यस वर्ष मात्रै करिब ३ हजार केजीभन्दा बढी उत्पादन भएको उहाँले बताउनुभयो । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गर्दै ९ देखि १० बिगासम्म पु¥याउने योजना रहेको उहाँको भनाइ छ ।

“नदीले कटान गरेर बालुवामा परिणत गरेको जमिनलाई उपयोग गरेर केही नयाँ गर्ने सोच आयो,” चौधरीले भन्नुभयो, “अहिले उत्पादन राम्रो भएको छ । अझ व्यवस्थित ढंगले अघि बढ्ने योजना बनाएको छु ।”

उहाँका अनुसार खेतीमा कुनै पनि प्रकारको विषादी प्रयोग गरिएको छैन । पूर्ण रूपमा अर्गानिक तरिकाले उत्पादन गरिएको खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँले बताउनुभयो । स्वादिलो, रसिलो र विषादीरहित भएकाले स्थानीय उपभोक्ताको आकर्षण बढ्दै गएको छ ।

खरबुजा खेतीसँगै चौधरीले बेमौसमी तरकारी उत्पादनको तयारी पनि गरिरहनुभएको छ । कृषि क्षेत्रलाई व्यावसायिक र दीर्घकालीन आम्दानीको स्रोत बनाउने लक्ष्यसहित उहाँ अघि बढ्नुभएको हो । उहाँका अनुसार यो योजनाले आगामी दिनमा ३० देखि ४० जनासम्मलाई प्रत्यक्ष रोजगारी दिने सम्भावना छ ।

“कृषिमा ठूलो सम्भावना देखेर नै म यो क्षेत्रमा लागेको हुँ,” चौधरीले भन्नुभयो, “यदि स्थानीय सरकारले बजारीकरण, कृषि प्राविधिक तथा अनुदानमा सहयोग गर्‍यो भने अझ धेरै काम गर्न सकिन्छ ।”

चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा ले नगरपालिकाबाट आवश्यक सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । विषादीरहित अर्गानिक उत्पादनले आफूलाई उत्साहित बनाएको उल्लेख गर्दै उहाँले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

“स्थानीय किसानको मेहनतलाई सम्मान गर्दै उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नगरपालिका प्रतिबद्ध छ,” मेयर लामाले भन्नुभयो, “यस्ता नमुना खेतीलाई प्रोत्साहन गर्नु आवश्यक छ ।”

विशेषज्ञहरूका अनुसार खरबुजा खेतीका लागि बलौटे वा दोमट माटो अत्यन्त उपयुक्त मानिन्छ । यस्तो जमिनमा पानी नजम्ने भएकाले बिरुवाको वृद्धि राम्रो हुने र उत्पादनसमेत बढी हुने गर्छ । पर्याप्त घाम र न्यानो हावापानी हुने क्षेत्र खरबुजा खेतीका लागि अझ उपयुक्त मानिन्छ ।

उदयपुरको त्रियुगा नदी आसपासका धेरै क्षेत्र बलौटे तथा दोमट माटोयुक्त भएकाले यहाँ व्यावसायिक खरबुजा खेतीको ठूलो सम्भावना रहेको कृषकहरू बताउँछन् । राज्यले यस्ता खेतीमा प्रोत्साहन, प्रविधि र बजार व्यवस्थापनमा सहयोग गर्न सके स्थानीय किसान आत्मनिर्भर बन्नुका साथै युवालाई गाउँमै रोजगारी सिर्जना गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button