तपाईँ सुन्दै हुनुहुन्छः

प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्दो

राँझा (बाँके)। पढ्दापढ्दै रोजगारीको अवसर मिल्ने भएपछि प्राविधिक शिक्षा अध्ययनमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

पढाइ सकिएपछि जागिर खोज्न भौँतारिनुपर्ने आम युवाको नियति बनिरहँदा प्राविधिक शिक्षा अध्ययन गरेका विद्यार्थीले पढ्दापढ्दै रोजगारी पाउने भएकाले अध्ययनमा आकर्षण बढ्दै गएको नेपालगन्जस्थित भेरी प्राविधिक शिक्षालयकी प्रिन्सिपल आशाकुमारी श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार, पश्चिम नेपालकै प्राविधिक शिक्षाको केन्द्र मानिने यस शिक्षालयमा बाँके र बर्दियामात्र नभई कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका विद्यार्थीहरूको ठूलो आकर्षण छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को मापदण्डअनुसार भर्ना र छात्रवृत्ति वितरण हुने यस शिक्षालयमा डिप्लोमा र प्रिडिप्लोमा तहमा विद्यार्थीको सङ्ख्या उत्साहजनक देखिन्छ ।

प्रिडिप्लोमा तहमा इलेक्ट्रिकल, मेकानिकल, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाइल, रेफ एन्ड एसी र सेक्रेटियल र डिप्लोमा तहमा इलेक्ट्रिकल, मेकानिकल, सिभिल, फार्मेसी र रेडियोग्राफी कोर्षमा पढाइ हुने गरेको छ । “भेरी प्राविधिक शिक्षालयको सबैभन्दा बलियो पक्ष भनेकै यसको रोजगारमुखी शिक्षा हो, यहाँबाट उत्पादित जनशक्ति बेरोजगार बस्नु पर्दैन”, प्रिन्सिपल श्रेष्ठले भन्नुभयो, “बजारमा हाम्रा विद्यार्थीको माग निकै उच्च छ, उद्योगहरूले मागेजति जनशक्ति हामीले उपलब्ध गराउनै सकेका छैनौँ ।”

विशेषगरी औद्योगिक करिडोरका रूपमा विकास भइरहेको यस क्षेत्रका उद्योगहरूका लागि भेरी प्राविधिक शिक्षालय जनशक्ति आपूर्ति गर्ने मुख्य स्रोत बनेकाले यहाँ अध्ययनरत विद्यार्थीले कोर्ष पूरा नहुँदै रोजगारीका अवसर पाउने गरेको शिक्षालयका प्रिन्सिपल श्रेष्ठको भनाइ छ ।

भेरी प्राविधिक शिक्षालयमा डिप्लोमा लेभल इलेक्ट्रिकल, मेकानिकल, सिभिल, फार्मेसी र रेडियोग्राफी कोर्षमा आर्थिक वर्ष २०७९÷८० मा १३५ पुरुष र ५१ महिला गरी १८६, आव २०८०÷८१ मा १३३ पुरुष र ५४ महिला गरी १८७, आव २०८१÷८२ मा ११७ पुरुष र ५७ महिला गरी १७४ र आव २०८२÷८३ मा ११६ पुरुष र ६५ महिला गरी १८१ विद्यार्थीले अध्ययन गरेका छन् ।

प्रि–डिप्लोमा तर्फका इलेक्ट्रिकल, मेकानिकल, सिभिल, इलेक्ट्रोनिक, अटोमोबाइल, रेफ एन्ड एसी र सेक्रेटियल कोर्षमा आव २०७९÷८० मा १७५ पुरुष र ५२ महिला गरी २२७, आव २०८०÷८१ मा १५७ पुरुष र २६ महिला गरी १८३, आव २०८१÷८२ मा ११७ पुरुष र ५७ महिला गरी १७४ र आव २०८२÷८३ मा १३१ पुरुष र २१ महिला गरी १५२ विद्यार्थीले अध्ययन गरेका छन् ।

बजारको मागअनुसार शिक्षालयले नयाँनयाँ कार्यक्रम र कोर्षहरू थप्दै लगे पनि ती कार्यक्रमलाई धान्ने भौतिक पूर्वाधार र स्रोतसाधन भने वर्षौँदेखि थपिएका छैनन् । पुराना कक्षाकोठा, सीमित प्रयोगात्मक प्रयोगशाला र आवश्यक प्राविधिक सामग्रीको अभावका बीच पनि शिक्षालयले गुणस्तर कायम राख्न सङ्घर्ष गरिरहनु परेको प्रिन्सिपल श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button