‘वार्षिक २ करोड ६१ लाख किलो चिया उत्पादन’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले नेपालमा वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने गरेको जानकारी गराउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उठाएका विषयमा जवाफ दिनुहुँदै मन्त्री गौरी कुमारीले १८ जिल्लामा २० हजार ६ सय हेक्टर क्षेत्रफलमा चिया खेती भइरहेको करिब ६० हजार जना प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीमा रहेको जानकारी गराउनुभयो ।
उहाँले नेपालमा उत्पादित चियाको ८० देखी ९० प्रतिशत चिया भारतमा निर्यात हुने गरेको जानकारी गराउँदै भारत सरकारले आयातित चियाको सबै कन्साइनमेन्टमा अनिवार्य गुणस्तर परीक्षण गर्ने व्यवस्था गरेपछि नेपाली चिया निर्यातमा समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँले चियाको परीक्षण रिपोर्ट नआएसम्म चिया गोदाममा राख्नुपर्ने, जसले गुणस्तरमा असर र व्यापार लागत वृद्धि हुने अवस्था सिर्जना भएकाले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि भारत सरकारलाई पत्राचार गरिएको बताउनुभयो ।
चिया निकासीका लागि विगतमा जस्तै सहजीकरण गर्न भारत सरकारलाई आग्रह गरिएको पनि उहाँले सभामा जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्