दिगो हिमाली पर्यटन र वातावरण संरक्षण आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताउनुभएको छ।
विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आरोहीहरूको सम्मानमा बुधबार आयोजित Everest Summiteers Breakfast with President of Nepal कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्रै होइन, विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको उल्लेख गर्नुभयो।
“सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभई देशको प्रतिष्ठा, गौरव र विश्वकै महत्वपूर्ण प्राकृतिक सम्पदा हो,” उहाँले भन्नुभयो, “यसको संरक्षण, संवर्द्धन, प्रचारप्रसार र सन्तुलित उपयोगमार्फत नेपालको पर्यटन क्षेत्र तथा अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुगेको छ।”

राष्ट्रपति पौडेलले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर तथा पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन अहिलेका प्रमुख चुनौती बनेको बताउनुभयो।
“यी समस्याको समाधान गर्दै सगरमाथा क्षेत्रको पर्यावरण र जैविक विविधताको संरक्षण गर्न तथा पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक छ,” उहाँले भन्नुभयो।

उहाँले हिमाल र हिमाली पर्यावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद र सचेतना अभिवृद्धिमा यस्तो सम्मेलनको विशेष महत्व रहेको धारणा व्यक्त गर्नुभयो।
“विश्वभरिका सगरमाथा आरोहीलाई एकै स्थानमा भेला गराएर हिमाली क्षेत्रका बहुआयामिक विषयमा सार्थक छलफल हुनु आजको सन्दर्भमा अत्यन्त महत्वपूर्ण छ,” राष्ट्रपति पौडेलले भन्नुभयो।
आरोहणका क्रममा प्राप्त अनुभव र ज्ञानले सगरमाथाको प्राकृतिक स्वरूप संरक्षणमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले सम्मेलनले हिमाली सम्पदाको दीर्घकालीन संरक्षणमा विशेष ध्यान दिने अपेक्षा पनि गर्नुभयो।








प्रतिक्रिया राख्नुहोस्