बैतडीको पाटन–८ मा बाघ आतंक, गोठमै पस्दै चौपाया मार्न थालेपछि किसान त्रसित
बैतडी । बैतडीको पाटन नगरपालिका–८ का विभिन्न टोलमा बाघको आक्रमण बढेपछि स्थानीय किसान त्रासमा परेका छन् । गोठमै पसेर बाख्रा मार्न थालेपछि ग्रामीण बस्तीमा आतंक फैलिएको छ ।
मंगलबार बिहान करिब ३ बजेतिर आरुबाटामा स्थानीय बिरेन्द्र महराको गोठमा पसेको बाघले दुई वटा बाख्रा मारेको छ भने एउटा घाइते बनाएको पीडितले बताएका छन् । यसअघि आइतबार सोही क्षेत्रमा धौलसिंह महराको बाख्रा पनि गोठमै बाघको आक्रमणमा परेर मरेको थियो ।
त्यसैगरी आरुबाटाकै दिवानसिंह बिष्टको बाख्रा नजिकैको बाजाडी जंगल क्षेत्रमा बाघको आक्रमणमा परेको स्थानीयले बताएका छन् । लगातारका घटनापछि स्थानीयवासी थप त्रसित बनेका छन् ।
वडा अध्यक्ष हरिश बिष्टका अनुसार बाघले गोठमै पसेर चौपाया मार्न थालेपछि पीडित किसानलाई राहत उपलब्ध गराउन डिभिजन वन कार्यालयसँग समन्वय गरिएको छ । उनले क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन किसानलाई आग्रह गरिएको जानकारी दिनुभयो ।
राज्यको व्यवस्था अनुसार जंगली जनावरको आक्रमणबाट चौपायामा क्षति भएमा अधिकतम १० हजार रुपैयाँसम्म क्षतिपूर्ति दिने प्रावधान रहेको वडाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्