मतदाता नामावली पहिलो संशोधन विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित
काठमाडौँ । प्रतिपक्षी दलहरूको पटक पटकको अवरोधबिच सञ्चालन भएको प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक २०८३ र मतदाता नामावली पहिलो संशोधन विधेयक २०८३ पारित भएको छ ।
बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गर्नुभएको विधेयकहरू दफावार छलफलपछि सर्वसम्मतिले पारित भएको हो ।

यस्तै बैठकमा पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सैद्धान्तिक छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभयो ।
प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले पर्यटन क्षेत्रको दिगो विकासका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी गर्नुपर्ने, पर्यटन व्यवसायलाई जनताको जीवनशैलीसँग जोड्नुपर्ने वातावरण संरक्षण र सांस्कृतिक हस्तान्तरणलाई सँगसँगै लैजानुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो । यस्तै सांसदहरुले पर्यटनलाई मुलुकको मुख्य आर्थिक पूर्वाधारका रुपमा विकास गर्न नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो ।
यसअघि प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उठेका प्रश्नहरूको जवाफ दिनुपर्ने र संसद्प्रति उत्तरदायी बन्नुपर्ने भन्दै बैठक अवरोध गर्नुभएको थियो ।
प्रतिपक्षी दलहरूको अवरोधबिच संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रस्तुत प्रस्तावमाथि सैद्धान्तिक छलफलबिच प्रतिपक्षी दलहरूको अवरोध जारी रहेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएको थियो ।
दोस्रो पटक सुरु भएको बैठकमा समेत विपक्षी दलको अवरोध कायमै रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाह एक हप्ताभित्र सदनमा उपस्थित हुने जानकारी गराउनुभयो ।
यसपछि विपक्षी दलका सांसदहरुले रास्वपाका प्रमुख सचेतक बुर्लाकोटीको प्रतिबद्धता अनुसार सभामुख मार्फत रुलिङ गर्न माग गर्नुभयो ।
विपक्षी दलका सांसदहरुले प्रधानमन्त्री संसदमा उपस्थित हुन सभामुखद्वारा रुलिङ गर्न मागपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाह सदनमा चाँडै उपस्थित भई उठेका प्रश्नको जवाफ दिने तयारीमा रहनुभएको जानकारी गराउनुभयो ।
सभामुख अर्यालले सदन चलेकै दिन प्रधानमन्त्रीलाई बोलाइने उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीको समय र मिति तय भएको जानकारी प्राप्त भएपछि सोही अनुसार मिति समय पनि घोषणा गर्ने पनि स्पष्ट पार्नुभयो ।
यसअघि प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले भूगोल, क्षेत्र अनुसार गर्मी, वर्षा र पहिरोका कारण प्रभावित हुने नागरिकहरूको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले तराई क्षेत्रमा गर्मी याम सुरु भएसँगै दैनिक जनजीवन कष्टकर बनेकाले २४ सै घण्टा विद्युत् आपूर्ति अनिवार्य गर्न र वर्षाका कारण विभिन्न क्षेत्रका विस्थापित नागरिकलाई तत्काल उद्धार, राहत तथा पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसदहरूले गाउँका जमिन बाँझो रहने क्रम वृद्धि भएको, गाउँघर युवाविहीन बनेकोप्रति चिन्ता व्यक्त गर्दै सामूहिक खेतीतर्फ युवा आकर्षित गरेर जैविक र प्राकृतिक उत्पादन गर्न, आदिवासी जनजातिका परम्परागत ज्ञान सीपको उचित परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै सांसदहरुले विश्वव्यापी मूल्यवृद्धि तथा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धिले निर्माण जन्य सामान ढुवानी र खरिदमा असर परेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।
मूल्य वृद्धिले निर्माण सामग्री अभाव, भुक्तानीमा ढिलाइ लगायतका कारण निर्माण व्यवसायी मारमा परको भन्दै सांसदहरुले मूल्य समायोजनको व्यवस्था प्रभावकारी बनाउन, निर्माण सामग्रीको मूल्य निर्धारण तथा बजार अनुगमन गर्न, निर्माण व्यवसायीलाई भुक्तानीमा सहजीकरण र विशेष राहत प्याकेज ल्याउन पनि माग गर्नुभयो ।
यस्तै सीमा क्षेत्रमा नागरिकहरूलाई सहज रुपमा दैनिक उपभोग्य सामग्री खरिदबिक्री तथा आवतजावत गर्ने व्यवस्था गर्न, महिलाविरुद्धका कु प्रथा र विभेदकारी कानुनको परिमार्जन गरिनुपर्ने, बाँदर व्यवस्थापन गर्न संवेदनशील हुनुपर्ने लगायतका विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
नागरिकहरूको अनलाइन बैङ्किङ प्रणाली ह्याक गरी रकम चोरी हुने घटना वृद्धि भइरहेको भन्दै अनलाइन ठगी नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेकोमा सांसदहरूले जोड दिनुभयो ।
सांसदहरूले जेन जी आन्दोलनको क्रममा घाइते भएका युवाहरूको गम्भीरताका आधारमा वर्गीकरण गरी रोजगारी, उपचार खर्च र राहतको प्रबन्ध मिलाउनुपर्ने तथा नेपाली खेलाडी तथा खेलकुद क्षेत्रको प्रवर्द्धनलाई अझै बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
यस्तै युवाहरूमा मदिरा सेवन, ई–सिगरेट र भेप जस्ता सुर्तीजन्य पदार्थको प्रयोगका कारण स्वास्थ्यमा नकारात्मक असर देखिएको भन्दै सांसदहरूले यस्ता पदार्थको प्रयोगलाई निरुत्साहित गर्न आवश्यक रहेको बताउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक भोली जेठ १३ बुधवार बिहान ११ बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्