तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारविहीन बाजुराको गुम्बा गाउँ: फोन गर्न अझै डाँडाकाँडा र रुख चढ्नुपर्ने बाध्यता

बाजुरा। मोबाइल र इन्टरनेटले संसारलाई एउटा सानो गाउँमा समेटिरहेका बेला बाजुराको हिमाली गाउँपालिकास्थित बिच्छ्या क्षेत्रका अधिकांश बासिन्दा भने अझै सञ्चार सेवाबाट पूर्ण रूपमा टाढै छन्।

आधुनिक सञ्चारको पहुँच नपुग्दा स्थानीयहरू सामान्य फोन सम्पर्कका लागि समेत दैनिक रूपमा डाँडाकाँडा धाउन र रुख चढ्न बाध्य छन्।

हिमाली गाउँपालिका–३ स्थित गुम्बा गाउँमा करिब २५ परिवारको बसोबास छ। गाउँका अधिकांश मानिसको हातमा सामान्य मोबाइल सेट भए पनि नेटवर्क नआउँदा ती मोबाइल ‘देखाउनका लागि मात्रै’ जस्तै बनेका छन्। अत्यावश्यक अवस्थामा आफन्त वा स्वास्थ्यकर्मीलाई खबर गर्नसमेत निकै कठिन हुने गरेको स्थानीयको दुखेसो छ। स्थानीय अर्जुन रोकायाका अनुसार नेपाल टेलिकमले कोट गाउँमा टावर निर्माण गरे पनि प्रभावकारी नेटवर्क आएको छैन। यस्तै, नेटामा निर्माण गरिएको अर्को टावर करिब सात महिनादेखि सञ्चालनमा आउन सकेको छैन।

गुम्बा गाँउ

“फोन गर्न डाँडामा जानुपर्छ, कहिलेकाहीँ मात्रै फ्याट्टफुट्ट नेटवर्क आउँछ,” रोकायाले भन्नुभयो, “फोरजी सेवा त धेरै टाढाको कुरा भयो, सामान्य फोनसमेत लाग्दैन।”

गुम्बा गाउँकी अर्की स्थानीय मालती गुरुङले सञ्चार अभावले पीडा थपिएको बताउनुभयो।

“मान्छे मरे पनि आफन्तलाई समयमै खबर गर्न सकिँदैन,” उहाँले गुनासो गर्नुभयो। गुम्बासँगै नातिखोला, रुम्दी, कोट लगायतका गाउँमा पनि फोन नेटवर्क नहुँदा स्थानीयहरू आधुनिक डिजिटल युगमा समेत सञ्चारविहीन जीवन बिताउन बाध्य  छन्। शिक्षा, स्वास्थ्य, विपद् सूचना तथा सरकारी सेवासम्म पहुँचमा समेत यसको प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ।

नेपाल टेलिकम बाजुराका प्रमुख ईश्वर सिंहले बिच्छ्या क्षेत्रका नागरिकलाई सञ्चार पहुँचमा जोड्न पहल भइरहेको बताउनुभयो। निर्माण भएका टावरहरू छिट्टै सञ्चालनमा ल्याइने गरि काम अगाडि बढाइँदै छ, उहाँले भन्नुभयो।

अपि साइपालको बेस क्याम्प रानिसैन

सञ्चार प्रविधिले देशलाई डिजिटल युगतर्फ डोर्‍याइरहेका बेला बाजुराको गुम्बा भने अझै नेटवर्क खोज्दै डाँडामा उक्लिन बाध्य छ। गुम्बा सुदूरपश्चिमकै चर्चित पर्यटकीय क्षेत्र अपि साइपालको बेस क्याम्प रानिसैनसँग जोडिएको गाउँ हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button