तपाईँ सुन्दै हुनुहुन्छः

वैकल्पिक ऊर्जाको प्रयोग बढाउन सरकारको जोड

बाँके । भान्सामा प्रयोग हुने दाउरा तथा पेट्रोलियम पदार्थको खपत घटाउँदै स्वच्छ, सुरक्षित र वातावरणमैत्री जीवनशैली प्रवर्द्धन गर्न वैकल्पिक ऊर्जाको प्रयोग बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

ऊर्जा मन्त्रालयअन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रद्वारा कोहलपुरमा आयोजित कार्यक्रममा सहभागीहरूले स्वास्थ्य संरक्षण, वातावरणीय सन्तुलन तथा आर्थिक बचतका लागि वैकल्पिक ऊर्जा अहिलेको आवश्यकता भएको बताए । 

केन्द्रका इन्जिनियर नारायण घिमिरेले बाँके, बर्दिया र दाङसहित तराईका २२ जिल्लाका १ सय ५ स्थानीय तहमा स्वच्छ चुलो कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिए । उनका अनुसार बाँके, बर्दिया र दाङका १८ स्थानीय तहमा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको छ ।

उनले वैकल्पिक ऊर्जाको प्रयोगले उपभोक्तालाई स्वास्थ्य, आर्थिक तथा वातावरणीय हिसाबले लाभ पुग्ने बताउँदै स्वदेशी ऊर्जाको अधिकतम उपयोगमार्फत ऊर्जा आयातमा खर्च हुने राष्ट्रिय धनसमेत बचत गर्न सकिने उल्लेख गरे ।

कार्यक्रमको मुख्य उद्देश्य स्वच्छ भान्साको विकास गर्दै कार्बन उत्सर्जन न्यूनीकरण गर्नु रहेको बताइएको छ । सुधारिएको चुलो, बायोग्यास तथा इन्डक्सन चुलोजस्ता प्रविधिको प्रयोगले धुवाँरहित र स्वच्छ भान्सा निर्माणमा सहयोग पुग्ने केन्द्रले जनाएको छ ।

कार्यक्रममा बोल्दै नरुलाल चौधरी ले वैकल्पिक ऊर्जाको प्रयोगले नागरिकलाई स्वस्थ र निरोगी बनाउनुका साथै इन्धन खरिदमा हुने खर्चसमेत घटाउने बताए । उनले धुवाँरहित चुलोले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै न्यून इन्धन खपत, इन्धन खर्च बचत तथा वातावरण संरक्षणमा समेत योगदान पुग्ने बताए ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका अनुसार तीन जिल्लामा २० हजार उपभोक्तालाई स्वच्छ चुलो वितरण गर्ने लक्ष्यसहित पाँच वर्षे कार्यक्रम सञ्चालनमा रहेको छ । अबका तीन वर्षभित्र कार्यक्रमलाई थप प्रभावकारी बनाइने जनाइएको छ ।

कार्यक्रम लागू भएका पालिकाका वडामार्फत उपभोक्ताले स्वच्छ चुलो अनुदानका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । साथै कार्यक्रमको महत्वबारे जानकारी दिन सामाजिक परिचालकमार्फत घरदैलो अभियानसमेत सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।

कार्यक्रममा वैकल्पिक ऊर्जाका विज्ञ कृष्ण पन्थी, तारा प्रसाद पोख्रेल तथा महारुद्र ग्रुप प्रालिका सरोज धिताल लगायतले वैकल्पिक ऊर्जाको उपयोगिता र प्रविधिबारे प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button