तपाईँ सुन्दै हुनुहुन्छः

सीपदेखि व्यवसायसम्म: स्याङ्जामा अर्ग्यानिक अचार अभियान

स्याङ्जा। स्याङ्जाको आँधीखोला गाउँपालिका १ मा महिलालाई आत्मनिर्भर बनाउने लक्ष्य सहित सञ्चालन गरिएको अचार बनाउने तालिमले स्थानीय स्तरमै उद्यमशीलताको नयाँ सम्भावना सिर्जना गरेको छ ।

रैथाने बाली, जडीबुटी तथा तरकारीको प्रयोग गरी अर्ग्यानिक अचार उत्पादन गर्ने सीप सिकेपछि सहभागी महिलाहरू व्यावसायिक रूपमा अघि बढ्न थालेका छन् ।

एकीकृत सेवा कार्यालय स्याङ्जाको आयोजना तथा आँधीखोला गाउँपालिकाको सहकार्यमा सम्पन्न तालिममा  अकबरे खुर्सानी, मुला, गाजर, लसुन, अदुवा, कागती, करेला लगायतका स्थानीय उत्पादनबाट अचार बनाउने तरिका सिकाइएको थियो । उक्त तालिममा २० जना महिला सहभागी रहेका थिए । तालिमपछि महिलाहरूले आफ्नै घर आँगनमा उपलब्ध सामग्री प्रयोग गरी उत्पादन सुरु गरिसकेका छन् । 

गाउँपालिका उपाध्यक्ष सिता थापाले यस कार्यक्रमले महिलाको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडा न-१ का अध्यक्ष पवनकाजी अधिकारीले पहिले खेर जाने तरकारी अहिले आम्दानीको स्रोत बन्न थालेको बताउनुभयो । “घरको कामपछि फुर्सदमा अचार बनाउने बानी बस्दै गएको छ, अब यसलाई बजारसम्म पुर्‍याउने तयारीमा छौँ,” उहाँले बताउनुभयो ।

तालिममा सहभागी निरुता ढकालले सीपको अभावमा पहिले धेरै उत्पादन खेर गएको अनुभव सुनाउँदै अब व्यावसायिक रूपमा अचार उत्पादनमा लाग्ने बताउनुभयो । प्रशिक्षक तथा महिला उद्यमी चन्द्रकला रानाका अनुसार कम लागत र छोटो समयमा तयार हुने अचारबाट राम्रो आम्दानी सम्भव हुने बताउनुभयो ।

कार्यक्रमका संयोजक जीवन पौडेलले रैथाने बालीको संरक्षण गर्दै अचारलाई ‘अचार पर्यटन’सँग जोड्ने योजना रहेको जानकारी दिनुभयो । स्थानीय होमस्टेमा आउने पर्यटकलाई अर्ग्यानिक अचारको स्वाद चखाउँदै बजार विस्तार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

उक्त तालिमले स्याङ्जाका महिलालाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै स्थानीय उत्पादनको सदुपयोग गर्ने दिशामा महत्वपूर्ण कदम सावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button