नक्कली हकदार खडा गरी जग्गा नामसारी : तत्कालीन प्रमुख मालपोत अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रूपन्देहीको सियारी गाउँपालिकामा मृतकको नाममा रहेको जग्गा नक्कली हकदार खडा गरी कीर्ते कागजातका आधारमा नामसारी गरेको प्रकरणमा सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत, स्थानीय जनप्रतिनिधि तथा बिचौलियाको मिलेमतोमा जग्गा हडपिएको पुष्टि भएपछि आयोगले आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।
मुद्दा दायर गरिएका व्यक्तिहरूमा तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, मालपोत अधिकृत भूमिश्वर ढकाल, तत्कालीन नायब सुब्बा राजु शर्मा, खरिदार अजित कुमार साहनी, तत्कालीन वडा अध्यक्ष रामकिशन थारू, तत्कालीन वडा सदस्य वृजनारायण यादव तथा नक्कली हकदारका रूपमा प्रस्तुत गरिएका बुद्धराम कहार रहेका छन् ।
आयोगका अनुसार रूपन्देहीको साविक मैनहिया गाविस (हाल सियारी गाउँपालिका–२) निवासी मृतक बेरई कहारको नाममा रहेको कित्ता नम्बर ५०, ७६४, ९१७, ९२९, ४५, ५६ र २० सहित कुल २ बिघा ५ धुर जग्गा कीर्ते कागजात तयार गरी अवैध रूपमा नामसारी गरिएको थियो ।
अनुसन्धानका क्रममा मृतक बेरई कहारकी वास्तविक हकदार उनकी छोरी सन्जु कहार भए पनि प्रतिवादी बुद्धराम कहारलाई मृतकको भाइका रूपमा झुटा नाता प्रमाणित गराई सर्जमिन मुचुल्का तयार पारिएको खुल्न आएको छ । यस प्रकरणमा संलग्न व्यक्तिहरूले मिलेमतोमा सरकारी अभिलेख दुरुपयोग गरी गैरकानुनी रूपमा जग्गा हडप्ने कार्य गरेको निष्कर्षसहित आयोगले उनीहरू विरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्