तपाईँ सुन्दै हुनुहुन्छः

मुगुमा छैटौँ रारा ट्रेल रन–२०२६ आयोजना हुँदै

मुगु । रारा क्षेत्रको पर्यटन प्रवर्द्धन तथा संरक्षणको सन्देश फैलाउने उद्देश्यसहित मुगुमा ‘छैटौँ रारा ट्रेल रन–२०२६’ आयोजना हुने भएको छ ।

रारा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेनाले हरेक वर्ष गर्दै आएको यो प्रतियोगिताको यस वर्षको संस्करणका लागि सबै तयारी पूरा भएको जनाएको छ ।

नेपाली सेनाको हनुमानध्वज गुल्म, हुटुले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता वैशाख ३० गते बिहानदेखि सुरु हुने जानकारी दिएको हो । गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार प्रतियोगिताका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको छ ।

यस वर्षको ट्रेल रन रारा ताल आसपासको प्राकृतिक सौन्दर्यबीच सञ्चालन हुनेछ । १६ किलोमिटर दूरीको प्रतिस्पर्धात्मक दौड मुख्य आकर्षण रहनेछ, जसमा महिला र पुरुष दुवै वर्गका खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई नगद पुरस्कार दिइनेछ । प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीयले ३० हजार रुपैयाँ र तृतीयले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई थप आकर्षक बनाउन रमाइलो दौड, तस्बिर प्रदर्शनी तथा स्थानीय कला–संस्कृतिसम्बन्धी कार्यक्रम पनि समावेश गरिएको छ ।

आयोजकका अनुसार यस कार्यक्रमले रारा क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्थानीय संस्कृति उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button