तपाईँ सुन्दै हुनुहुन्छः

चाप हुने यातायात सेवा कार्यालय टहरोमा, छेउमै सुनसान जिसस भवन

नवलपरासी, पश्चिम् । पश्चिम् नवलपरासीको सदरमुकाम रामग्राम नगरपालिका–४ मा रहेको यातायात व्यवस्था सेवा कार्यालय सेवाग्राहीको अत्यधिक चापबिच पनि टहरोमै सञ्चालन हुँदै आएको छ। आवश्यक पूर्वाधार अभावका कारण दैनिक सेवा प्रवाहमै कठिनाइ भइरहेको छ भने सेवाग्राहीले घाम, भीड र अव्यवस्थित वातावरण सहेर सेवा लिन बाध्य भएका छन्।

साँघुरो र अव्यवस्थित कार्यालयका कारण सेवाग्राहीलाई लामो समय लाइन बस्नुपर्ने, भिडभाडमा सास्ती खेप्नुपर्ने र सामान्य सेवा लिनसमेत घण्टौँ कुर्नुपर्ने अवस्था रहेको छ। तर विडम्बना, सोही कार्यालयसँगै टाँसिएर रहेको जिल्ला समन्वय समितिको तीन तले सुविधा सम्पन्न भवन भने प्रायः सुनसानजस्तै देखिन्छ।

सेवाग्राहीको ठूलो चाप हुने र वार्षिक करोडौँ राजस्व सङ्कलन गर्ने कार्यालय टहरोमा सञ्चालन भइरहेको अवस्थामा न्यून कर्मचारी रहेको जिल्ला समन्वय समितिको कार्यालय भने आधुनिक र पर्याप्त पूर्वाधारसहित सञ्चालनमा छ। यसले सरकारी स्रोत साधनको प्रभावकारी उपयोगमाथि प्रश्न उठाएको छ।

यातायात सेवा लिन आउनुभएका सुनवल–२ का सेवाग्राही सुरेश यादवले भन्नुभयो, “हामी चर्को घाममा लाइन बस्नुपरेको छ। यत्रो भीड हुने कार्यालय यस्तो टहरोमा छ, तर नजिकैको जिसस भवन खालीजस्तै छ। यहीँ व्यवस्थापन गरे धेरै सहज हुन्थ्यो, तर कसले सुन्ने, कसले पहल गर्ने खै!?”

उक्त कार्यालय हाल भाडाको जग्गामा सञ्चालन हुँदै आएको छ र मासिक करिब ६० हजार रुपैयाँ भाडा तिर्दै आएको छ। कार्यालयका अनुसार गत आर्थिक वर्षमा २१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो भने चालू आर्थिक वर्षमा हालसम्म १९ करोडभन्दा बढी राजस्व उठिसकेको छ।

कार्यालयको भौतिक अवस्था अत्यन्तै कमजोर रहेको छ। “कार्यालय निकै नै साँघुरो छ, त्यसैले अन्यत्र उपयुक्त स्थान खोजिरहेका छौँ। पुरानो करदाता सेवा कार्यालयको भवन उपयुक्त हुन सक्छ, तर हाम्रो प्रयासले मात्रै सम्भव हुँदैन” कार्यालय प्रमुख राजकुमार घिमिरेले रेडियो नेपालसँग भन्नुभयो ।

स्थानीय स्तरमै पर्याप्त भौतिक संरचना उपलब्ध हुँदाहुँदै पनि सेवाग्राहीले सास्ती खेप्नुपर्ने अवस्था अन्त्य गर्न सरोकारवाला निकायले समन्वय र पहल गर्नु जरुरी देखिएको छ । पछिल्लो समय देशै भरका जिल्ला समन्वय समितिको कार्यालयको औचित्यमाथि समेत प्रश्न उठ्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button