तपाईँ सुन्दै हुनुहुन्छः

ठुलो परिमाणको अवैध लागूऔषधसहित एक युवक पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले ठुलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

हिजो साँझ सुर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ८ घर भई हाल भक्तपुरको दार्जिलिङ हाइट बस्ने ३० वर्षीय प्रकाश पाख्रिन रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिनुभयो ।

प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले पाख्रिनले चलाएको बा.प्र.०२–०६४ प ४९८५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गर्दा लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध बरामद भएको थियो । पाख्रिनबाट बरामद गरिएका लागु औषधहरूमा डाइजोपाम – १०३ एम्पुल,नोर्फिन – १०३ एम्पुल,फेनेरागन – १०३ एम्पुल,ट्रामाडोल – ८५० ट्याब्लेट,नाइट्राभेट – २१० ट्याब्लेट र नगद २८,२५० रुपैयाँ बरामद गरिएको प्रहरीको भनाई छ ।

परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक अधिकारीका अनुसार पक्राउ परेका पाख्रिन र उनले प्रयोग गरेको स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button