तपाईँ सुन्दै हुनुहुन्छः

चन्द्रगढी महिला गोल्डकपको उपाधि एपीएफलाई

झापा । झापाको भद्रपुर ८ स्थित सरकारी स्वामित्वको मेची रङ्गशालामा  सञ्चालित चन्द्रगढी महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले जितेको छ ।

फाइनल खेलमा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै सशस्त्रले उपाधि हात पारेको हो । उपाधिसँगै एपीएफले नगद ११ लाख, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता आर्मीले ५ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

सशस्त्रलाई उपाधि दिलाउन रश्मिकुमारी घिसिङले गोल गरिन् । खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहेकी घिसिङले हेडमार्फत सुन्दर गोल गरिन् ।

खेलको प्लेयर अफ द म्याच विजेता टिम एपीएफकी सरु लिम्बु भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार पाइन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी भइन् । उनले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार पाइन् । उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना राना मगर, डिफेन्डर एपीएफकै गीता राना, मिडफिल्डर आर्मीकी दीपा शाही, उच्च गोलकर्ता एपीएफकी रश्मिकुमारी घिसिङ, राइजिङ प्लेयर आयोजक चन्द्रगढी युथ क्लबकी सबनम राई भइन् । उनीहरूले जनही नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।

बैशाख ५ गते सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, सङ्कटा फुटबल क्लब र ओखलढुङ्गाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।

विजेता तथा उपविजेतालाई प्रमुख अतिथि मुख्य प्रायोजक ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेल, भद्रपुर नगरप्रमुख गणेश पोखरेल, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक चन्द्रगढी युथ क्लबका अध्यक्ष रोहित सुब्बा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button