तपाईँ सुन्दै हुनुहुन्छः

वास्तविक सुकुम्वासी पहिचान गरी उचित व्यवस्थापन गरिदै

काठमाडौँ । काठमाडौँ उपत्यकाको बागमतीलगायतका नदी किनारमा बसोबास गरेका सुकुम्वासी बस्तीहरू खाली गराइँदै छ ।

सरकारले काठमाडौँ उपत्यका लगायतका नदी तथा खोला किनारका संवेदनशील स्थानमा बसोबास गर्दै आएको सुकुम्वासी बस्ती हटाउन शनिवारदेखि सुरु गरेको हो । 

बस्ती खाली गरेसँगै सरकारले वास्तविक सुकुम्बासी पहिचान गर्ने कार्य गरिरहेको छ भने उनीहरुलाई व्यवस्थित स्थानमा उचित बसोबासको व्यवस्था मिलाइने जनाएको छ । सुकुम्वासी बस्ती खाली गराइएपछि अहिले उनीहरुलाई सरकारले अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।

बस्ती हटाउने क्रममा अहिलेसम्म २ सय १४ घर परिवारले सुकुम्वासी भनेर नाम टिपाएको र उनीहरुलाई हाल कीर्तिपुरस्थित राधास्वामी सत्संघ र त्यहाँ नअटेकालाई विभिन्न होटलमा राखिएको छ ।

अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको नाममा  जग्गा भए नभएको पहिचान गर्ने कार्य गरिरहेको छ । त्यसबाट वास्तविक सुकुम्वासी तथा भूमिहीन भएको पाइएमा उनीहरूको उचित बसोबासको व्यवस्था मिलाइने काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त जानुका ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “थापाथली, गैरीगाउँ र मनोहरा खोला आसपासका नदी किनारमा बसोबास गर्दै आएकामध्ये हामी सुकुम्वासी हौँ भनेर सम्पर्कमा आएकालाई तत्कालको लागि अस्थायी बसोबासको व्यवस्था गरिएको छ । उनीहरूको जग्गा भए/नभएको पहिचान गरी वास्तविक सुकुम्वासी भएको पाइएमा उचित बसोबासको व्यवस्था मिलाइने छ ।”

उपत्यकाको खोला तथा नदी किनारमा बसोबास गरेका सुकुम्वासी तथा मुलुकको सहरी गरिबको बसोबासका लागि भनी सरकारले २०७१ सालमा नागार्जुन नगरपालिकाको वडा नम्बर १ को इचंङ्गुनारायणमा सार्वजनिक भवन निर्माण गरेको थियो । तर विभिन्न कारणले सुकुम्वासीहरू त्यहाँ बसोबास गर्न मानिरहेका थिएनन् र खोला तथा नदी किनारमा नै बसोबास गर्दै आएका थिए ।

हाल उक्त भवनमा मानव सेवा आश्रम र अन्य संघ संस्थाका कार्यालयहरू सञ्चालन भइरहेका छन् भने एउटा ब्लक खाली अवस्थामा रहेको छ ।

सञ्चालनमा नआएका कारण भवन जीर्ण समेत बन्दै गएको अवस्था छ । अब भने खाली रहेको ब्लकमा वास्तविक सुकुम्वासीहरूलाई राख्नका लागि सरसफाई तथा मर्मत सम्भारको काम भइरहेको काठमाडौँ उपत्यका विकास प्राधिकरणका आयुक्त ढकालले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीसँग सम्पर्कमा रहनुभएका सुकुमवासीहरु यदि स्क्रीनिङका क्रममा वास्तविक सुकुम्वासी र भूमिहीन भएको पाइएमा उहाँहरूमध्ये ४५ घर परिवारलाई इचङ्गुनारायणमा रहेको सार्वजनिक भवनमा र अन्यलाई अन्यत्र व्यवस्थित स्थानमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।” 

सुकुम्वासीका लागि भनेर तयार गरिएको इचङगुनारायणको सार्वजनिक भवनमा उनीहरुलाई लैजाने तयारी गरिएको भएपनि त्यसबारेमा स्थानीय तहसँग भने हालसम्म केही पनि समन्वय नगरिएको नागार्जुन नगरपालिकाले जनाएको छ ।

भवनमा हाल विभिन्न संघसंस्थाहरुको कार्यालय रहेका छन् भने भवनको एउटा ब्लक खाली रहेको छ । तर त्यहाँ वास्तविक सुकुम्वासीहरूलाई लगेर कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय तहसँग सहजीकरणका लागि कुनैपनि समन्वय नभएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले जानकारी दिनुभयो ।

सुन्दर, सभ्य र व्यवस्थित सहर निर्माण तथा सहरी गरिब जथाभाबी सार्वजनिक स्थलमा बसोबास नगरुन् भन्ने उद्देश्यले २०७१ सालमा इचङगुनारायणमा करिब छ रोपनी क्षेत्रफलमा सार्वजनिक भवन निर्माण गरिएको थियो । सुकुम्वासी र सहरी गरिबको व्यवस्थित बसोबासका लागि भनेर निर्माण गरिएको देशकै यो पहिलो सार्वजनिक भवन हो । सुकुम्वासी व्यवस्थापनका लागि करोडौँ खर्च गरेर बनाइएको भवन प्रयोगविहीन हुँदा भवन जीर्ण बन्दै गएको छ । 

सो भवनमा दुई वटा ब्लक छन् । पहिलो र दोस्रो ब्लकमा क्रमशः एक सय र २ सय २७ घरपरिवार बसोबास गर्ने क्षमता रहेको छ । भवनको एउटा युनिटमा तीन वटा कोठा, छुट्टै भान्सा कोठा र शौचालय छन् । 

विगतमा सहरको केन्द्रबाट टाढा भएको, रोजगारी अभाव र सार्वजनिक यातायात तथा विद्यालय जस्ता आधारभूत सुविधा नभएको भन्दै सुकुम्वासीले त्यहाँ जान अस्वीकार गर्दै आएका थिए । आफ्नो क्षेत्रमा सुकुम्वासी राख्दा शान्ति सुरक्षामा खलल पुग्ने भन्दै स्थानीयले समेत विरोध गरेका कारण उद्देश्य अनुसार भवनको सदुपयोग हुन सकेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button