तेस्रो इलाम गोल्डकप २०८३ : उद्घाटन खेलमा मोरङको जित
इलाम । तेस्रो इलाम गोल्डकप फुटबल प्रतियोगिता बैशाख ५ गते इलामको प्रतिष्ठित टुँडिखेल मैदानमा भव्य रूपमा सुरु भएको छ। उद्घाटन खेलमै दर्शकहरूले निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल हेर्न पाए।

उद्घाटन खेलमा आयोजक रेडहर्स एफसी इलाम र मोरङबिच प्रतिस्पर्धा भएको थियो। खेलको सुरुवातदेखि नै दुवै टोलीले आक्रामक खेल प्रस्तुत गरेका थिए। खेलको पहिलो मिनेटदेखि नै मैदानमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।
खेलको सुरुवातमै मोरङले गोल गर्दै अग्रता लिएको थियो। त्यसपछि रेडहर्स एफसी इलामले खेलमा पुनः फर्किँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। खेलभरि दुवै टोलीले गोलका अवसरहरू सिर्जना गरे पनि निर्णायक गोल गर्न सकेनन्।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राई ब्रेकरमार्फत गरिएको थियो। ट्राई ब्रेकरमा मोरङले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ ले जित हात पार्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
रेडहर्स एफसी इलामका खेलाडी सन्देश खड्का ले खेलमा गोल गर्दै टोलीलाई बराबरीमा ल्याउन महत्वपूर्ण योगदान दिएका थिए। उनको गोलपछि खेल अझ रोमाञ्चक बनेको थियो।
त्यस्तै मोरङका खेलाडीहरूले समग्र खेलमा संयमित र प्रभावकारी प्रदर्शन गरेका थिए। अन्ततः ट्राई ब्रेकरमा मोरङले दबाब झेल्दै उत्कृष्ट नतिजा निकाल्न सफल भयो।
आजको खेलमा मोरङका आसिस लावती उत्कृष्ट प्रदर्शन गर्दै ‘म्यान अफ द म्याच’ घोषित भएका छन्। उनले नगद ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
प्रतियोगिताको उद्घाटन दिनमै ठूलो सङ्ख्यामा दर्शकहरूको उपस्थिति रहेको थियो। स्थानीय फुटबल प्रेमीहरूको उत्साहजनक साथले खेललाई अझ रोमाञ्चक र जीवन्त बनाएको थियो।
प्रतियोगिता आगामी दिनहरूमा थप प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ, जहाँ विभिन्न जिल्लाका बलिया टोलीहरू उपाधिका लागि सङ्घर्ष गर्नेछन्।
प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। व्यक्तिगततर्फ सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ, सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ तथा प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ८ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्