रौतहटमा आपराधिक घटना बढ्दो, एक महिनामा ९८ वटा मुद्दा दर्ता
रौतहट । पछिल्लो समय रौतहटमा आपराधिक घटना बढेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा एक महिनाकै अवधिमा ९८ वटा आपराधिक घटनाका मुद्दा दर्ता भएका छन् ।
रौतहट प्रहरीले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चैत महिनामा मात्र उक्त सङ्ख्यामा मुद्दा दर्ता भएको हो ।
प्रहरीका अनुसार सो अवधिमा जघन्य तथा गम्भीर प्रकृतिका २३ वटा मुद्दा दर्ता भएका छन् । विभिन्न आपराधिक गतिविधिमा संलग्न १५ जनालाई चालु मुद्दामा पक्राउ गरिएको छ भने अदालतको फैसला कार्यान्वयनतर्फ १८ जना पक्राउ परेका छन् । उक्त कार्यबाट १८ हजार २३८ रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी क्षेत्रमा १५३ वटा उजुरी परेको तथ्याङ्कले देखाएको छ । सोही अवधिमा १६ जना महिला र १६ जना बालबालिका हराएको उजुरी परेको छ भने ३७ वटा घरेलु हिंसाका घटनाहरू दर्ता भएका छन् ।
प्रहरीले सो अवधिमा एक किलो ८५० ग्राम गाँजा, २५० ग्राम हेरोइन तथा १ हजार २८ ट्याब्लेट नाइट्रोजेपाम बरामद गरेको जनाएको छ ।
त्यसैगरी, चैत महिनामा विष सेवन गरी एक जना पुरुषले आत्महत्या गरेका छन् भने पासो लगाएर दुई पुरुष, एक महिला, दुई बालक र पाँच बालिकाले ज्यान गुमाएका छन् ।
यस्तै, सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १७८ जना घाइते भएका छन् । प्रहरीले अपराध नियन्त्रण तथा न्यूनीकरणका लागि सक्रियता बढाइएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्