तपाईँ सुन्दै हुनुहुन्छः

बाख्रा पालनलाई दीर्घकालीन आयस्रोत बनाउन आग्रह

बाँके। जानकी गाउँपालिकामा विपन्न परिवारको आयआर्जन बढाउने उद्देश्यसहित बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

जानकी कृषि सहकारी संस्था लिमिटेडको आयोजना र वडा नं. ४ को आर्थिक सहयोगमा ७० अतिविपन्न परिवारलाई बाख्रा तथा ४ वटा बोका वितरण गरिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले बाख्रा वितरणले स्थानीयको आयआर्जन सुधारमा सहयोग पुग्ने बताउनुभयो। उहाँले विपन्न परिवारलाई राहत मात्र होइन, दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको उल्लेख गर्नुभयो। उहाँले वितरण गरिएका बाख्राको उचित पालनपोषण गरी आयस्रोतमा रूपान्तरण गर्न आग्रह गर्नुभयो।

लाभग्राहीहरूले कार्यक्रमबाट राहत मिलेको र अब बाख्रा पालनमार्फत आम्दानी गर्ने अवसर प्राप्त भएको बताएका छन्।सहकारीका कार्यवाहक अध्यक्ष अमन बर्माका अनुसार कार्यक्रममार्फत ग्रामीण क्षेत्रमा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सहकारी पदाधिकारी तथा लाभग्राहीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button