स्वास्थ्य अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ: उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालमा स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको १२औँ राष्ट्रिय शिखर सम्मेलन’ को उद्घाटन समारोहमा उहाँले प्रमाण–आधारित नीति निर्माणलाई मजबुत बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उपराष्ट्रपति यादवले स्वास्थ्य अनुसन्धानले रोगका कारण, उपचारका विकल्प, जनसङ्ख्या स्वास्थ्यका प्रवृत्ति तथा सामाजिक–आर्थिक प्रभावबारे दीर्घकालीन दृष्टिकोण प्रदान गर्न सहयोग गर्ने बताउनुभयो । नसर्ने रोगको बढ्दो बोझ, जलवायु परिवर्तनका असर तथा भौगोलिक र सांस्कृतिक विविधताबाट उत्पन्न असमानता जस्ता चुनौती समाधानका लागि अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने उहाँको जोड थियो ।

उहाँले परम्परागत उपचार पद्धति र आधुनिक वैज्ञानिक अनुसन्धानबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुहुँदै अनुसन्धानका नतिजा केवल शैक्षिक प्रकाशनमा सीमित नराखी नीति निर्माण र कार्यान्वयनमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।
संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले वैज्ञानिक तथ्याङ्कलाई नीति निर्माणमा रूपान्तरण गर्नु संविधानको मर्म भएको बताउनुभयो ।
उहाँले सम्मेलनले अनुसन्धान प्रणाली सुदृढ गर्दै नीति निर्माणमा वैज्ञानिक तथ्याङ्कको उपयोग बढाउने विश्वास व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्