सञ्जीवनी अस्पतालमा ‘आमा सुरक्षा कार्यक्रम’ सुरु
नेपालगन्ज । नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस (सञ्जीवनी अस्पताल) मा आजदेखि ‘आमा सुरक्षा कार्यक्रम’ सुरु गरिएको छ । उक्त कार्यक्रमको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गर्नुभयो ।

त्यस क्रममा नगर प्रमुख विष्टले आमा सुरक्षा कार्यक्रम सुरु भएपछि बाँकेमा मातृ शिशु मृत्युदरमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो । बाँके लुम्बिनी प्रदेशमा सबैभन्दा बढी मातृ मृत्युदर हुने जिल्लामा पर्दछ । मातृ तथा शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै अस्पतालले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको अस्पतालका एमडी सन्तोष कुमार खनालले बताउनुभयो । एमडी खनालका अनुसार कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरूलाई नियमित जाँच, सुरक्षित सुत्केरी सेवा, आवश्यक परामर्श तथा उपचार सेवा सहज र सुलभ रूपमा प्रदान गरिनेछ ।
यस कार्यक्रमले विशेष गरी आर्थिक रूपमा कमजोर तथा सेवा पहुँचमा समस्या भएका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने उहाँले बताउनुभयो । अस्पतालले ‘आमा सुरक्षा कार्यक्रम’ मार्फत गर्भावस्थादेखि सुत्केरीपछिको अवस्थासम्म आवश्यक सम्पूर्ण स्वास्थ्य सेवा एकै स्थानबाट उपलब्ध गराउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोमन किदवाईले बताउनुभयो ।
जोखिमयुक्त गर्भावस्थाको निःशुल्क पहिचान, समयमै उपचार तथा सुरक्षित प्रसूति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाई छ । निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम नहुँदा सरकारी भेरी अस्पतालले त्यसको भार खेप्दै आएको थियो । अब सञ्जीवनी अस्पतालमा पनि आमा सुरक्षा कार्यक्रम सुरु भएपछि यसले सेवाग्राहीलाई ठूलो लाभ दिनेछ । संघीय सरकारले अनुदान रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको थियो । भेरीमा अत्यधिक चाप बढेपछि सरकारले फेरि नेपालगन्ज उपमहानगरपालिकामार्फत सञ्जीवनीलाई अनुदान दिएको हो ।
आमा सुरक्षा कार्यक्रम उद्घाटनमा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बम, स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्द, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, अस्पतालका चिकित्सक तथा कर्मचारी लगायतको उपस्थिति रहेको अस्पतालका प्रबन्धक कुमार अधिकारीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्