धनकुटामा इन्जिनियरसहित तीन जना घुससहित पक्राउ
धनकुटा। सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारीलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।
अख्तियारका अनुसार इन्जिनियर सुमन राई, लेखा अधिकृत ईन्द्रबहादुर कार्की र सब-इन्जिनियर रविन श्रेष्ठलाई सोमबार ८५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मा निर्माण भइरहेको एक विद्यालय भवनको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाइदिन उनीहरूले सेवाग्राहीसँग विभिन्न बहाना बनाई दुःख हैरानी दिँदै घुस माग गरेको उजुरी परेको थियो।
उक्त उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा इन्जिनियर राईलाई ललितपुरबाट पक्राउ गरेको हो। त्यसैगरी, इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशः धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको हो।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र सम्बन्धित कागजात बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्