तपाईँ सुन्दै हुनुहुन्छः

‘इतिहास, समाज र संस्कृति’ माथि बहस

भक्तपुर ।  इतिहासको स्वरूप, ज्ञान उत्पादन, संस्कृति, पहिचान र विकासका प्रश्नहरूलाई लिएर बौद्धिक बहस गरिएको छ ।

मानवशास्त्री डा. सुरेश ढकालसँग इतिहास, मानवशास्त्र, संस्कृति तथा समसामयिक समाजका बहुआयामिक विषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रम भक्तपुरमा सम्पन्न भएको हो ।

बुक क्लब, भक्तपुरको आयोजनामा सम्पन्न उक्त कार्य कार्यक्रममा डा.सुरेश ढकालले ‘मान्छे’लाई बुझ्न केबल जैविक आधार पर्याप्त नहुने उल्लेख गर्दै सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भलाई सँगै विश्लेषण गर्नुपर्ने बताउनुभयो ।

उहाँले इतिहासलाई विगतको स्थिर अभिलेखका रूपमा नभई वर्तमान समाज बुझ्ने सशक्त उपकरणका रूपमा व्याख्या गर्नुभयो ।

नेपालको इतिहास लेखनबारे चर्चा गर्दै मानवशास्त्री डा.ढकालले विशेषगरी सीमान्तीकृत समुदायका अनुभव र आवाजहरू मुख्यधारको इतिहासमा समेटिन नसकेको बताउनुभयो ।

कार्यक्रममा उहाँको आफ्नो कृति “इतिहास अघिको इतिहास” को सन्दर्भमा वैचारिक पृष्ठभूमिबारे प्रकाश पार्दै इतिहासलाई पुनर्विचार गर्ने, स्थापित मान्यतामाथि प्रश्न उठाउने प्रयास भएको बताउनुभयो ।

विशेषगरी प्रागऐतिहासिक अध्ययन–अनुसन्धान अत्यन्त खर्चिलो, जटिल र समयसाध्य हुने भएकाले यस क्षेत्रमा पर्याप्त लगानी आवश्यक पर्ने उहाँको भनाइ थियो । 

इतिहास र पहिचानबीचको सम्बन्ध संवेदनशील हुने भएकाले यसले सामाजिक द्वन्द्व निम्त्याउने सम्भावनाप्रति सचेत रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भक्तपुर सन्दर्भमा डा.सुरेश ढकालले यस क्षेत्रलाई “जीवित सांस्कृतिक सङ्ग्रहालय”का रूपमा व्याख्या गर्दै शहरीकरण र आधुनिकीकरणका प्रभावका बाबजुद पनि यहाँको सांस्कृतिक निरन्तरता उल्लेखनीय रहेको बताउनुभयो ।

पत्रकार हरिसुन्दर छुकांले सञ्चालन गरेको कार्यक्रममा लेखक सुरेश बखुन्छेले लेखकको परिचय प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थी, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूले मानवशास्त्र, इतिहास, संस्कृति र समाजसँग सम्बन्धित विविध जिज्ञासा राखेका थिए। आयोजकका अनुसार यस्ता अन्तरसंवाद कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने भएको छ ।

तीन दशकभन्दा बढी समयदेखि मानवशास्त्रको अध्ययन, अनुसन्धान र अध्यापनमा सक्रिय डा.सुरेश ढकाल हाल त्रिभुवन विश्वविद्यालयअन्तर्गत मानवशास्त्र केन्द्रीय विभागमा प्राध्यापनरत हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button