तपाईँ सुन्दै हुनुहुन्छः

बिस्केट जात्रा व्यवस्थित गर्न सुरक्षा निकायको अनुगमन

भक्तपुर । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रुपमा सञ्चालन हुने ऐतिहासिक प्रसिद्ध बिस्का (बिस्केट) जात्रा व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गर्न आज सुरक्षा निकायले अनुगमन गरेको छ ।

यहीँ चैत २७ गते सुरु भई आगामी वैशाख ५ गते सम्पन्न हुने जात्रालाई शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने उद्देश्यले जात्राको तयारी र निर्माण भइरहेको भैरवको रथको सुरक्षा निकायले अनुगमन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्लाका प्रहरी, नपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानलगायतको अनुगमन टोलीले रथ निर्माण प्रक्रिया, रथ तान्ने रुट, तयारीको अवस्था, ढुङ्गा हानाहान हुनबाट रोक्न र सहज रथ तान्ने व्यवस्था मिलाउन अपनाउनुपर्ने सुरक्षा अवस्थाका बारेमा जानकारी लिएको थियो । जात्राको तयारीका बारेमा गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जानकारी गराउनुभएको थियो । 

भक्तपुरको पाँचतले मन्दिर अगाडि तीनतले प्यागोडा शैलीको भैरवनाथको रथ निर्माण जारी छ भने सो रथ निर्माणपछि भद्रकालीको रथ निर्माण गरिन्छ । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले परम्परागत तान्त्रिक विधिअनुसार मनाउने विश्व प्रसिद्ध बिस्केट (बिस्का) जात्रा चैत २७ गते रथ तौमढीबाट भैरवको रथ तान्ने, चैत मसान्तको दिन ल्यासिंखेलमा ५५ हात लामो विश्व ध्वजासहितको लिङ्गो उठाउने, वैशाख १ गते दिनभर जात्रा गरी लिङ्गो ढाल्ने, वैशाख ५ गते पुनः भैरवको रथ तानेर गहिटी पुर्‍याएर जात्रा सम्पन्न गर्ने परम्परा छ ।

नौ दिन आठ रातसम्म दैनिक विभिन्न देवीदेवताको पूजा, जात्रासँगै देशका विभिन्न ठाउँमा छरिएर रहेका आफन्त र विदेशमा रहेका आफन्तसमेत भेला भएर ठूलो पर्वका रुपमा भोज गरेर जात्रा मनाउने गरिन्छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button