बजार अनुगमन थप प्रभावकारी बनाउन मुख्यमन्त्री शाहको निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
आज धनगढी स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरोकारवालासँगको बैठकमा मुख्यमन्त्री शाहले दैनिक उपभोग्य सामाग्री तथा ग्यास लगायत पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि बजार अनुगमन कार्यलाई थप प्रभावकारी बनाएर लैजान मातहतका निकायलाई निर्देशन दिनुभएको हो । त्यसक्रममा उहाँले ग्यास लगायतका बस्तुको आपूर्ति, खपत लगायतका विषयमा जानकारी लिनुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
यसैबिच मुख्यमन्त्री शाहको अध्यक्षतामा बसेको उक्त बैठकले डिजेल, पेट्रोल, खान पकाउने ग्याँस लगायतका अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धता सम्बन्धी गठित बजार अनुगमन समितिलाई क्रियाशील बनाउदै सरोकारवालासँग समन्वय, सहकार्य गरि बजार अनुगमनलाई प्रभावकारी बनाएर लैजाने निर्णय गरेको छ । यस्तै बैठकले बजारमा पेट्रोलियम पदार्थको कालोबजारी, कृत्रिम अभाव गरि मूल्यवृद्धि गर्ने जस्ता क्रियाकलापलाई निरुत्साहित गर्ने र त्यसका लागि सम्बन्धित पक्षलाई सचेत गराउने तथा सो कार्य गरेको पाइएमा तत्काल कानुनी कारबाही गर्ने निर्णय गरेको छ ।
अहिले बजारमा पेट्रोलियम पदार्थ लगायत अत्यावश्यकीय वस्तुको सहज आपूर्ति भइरहेको र त्यसलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न मुख्यमन्त्री शाहले निर्देशन दिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा सुरक्षा अधिकारी, सरोकारवाला लगायतको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्