ग्याँसको कृत्रिम अभाव सृजना गराउनेमाथि प्रशासनको निगरानी
दार्चुला । खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्ने गतिविधिमाथि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निगरानी बढाएको छ ।
ग्याँस उपलब्ध हुँदाहुँदै पनि ‘ग्याँस छैन’ भन्दै उपभोक्तालाई नदिने, ग्याँस लुकाउने, तोकिएको मूल्यभन्दा बढी मूल्य लिने जस्ता कार्य गरी उपभोक्तालाई सास्ती दिने कार्य भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले निगरानी गरेको हो ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाल नेतृत्वको टोलीले जिल्ला सदरमुकाम खलङ्गाको बजार क्षेत्रका ग्याँस सिलेण्डर बिक्री डिलर तथा केन्द्रहरू र विक्रेताहरूको अनुगमन तथा सूक्ष्म निगरानी गरी मौज्यदा अवस्था, आपूर्ति प्रणाली र विक्री वितरणको अवस्थाबारे जानकारी लिएको छ ।
ग्याँस विक्री डिलर तथा विक्री केन्द्रहरूको अनुगमनपछि प्रशासनले प्रेस नोट सार्वजनिक गर्दै तत्काल बजारमा ग्याँसको अभाव नदेखिएको उल्लेख गर्दै उपभोक्ताको हितलाई ध्यानमा राखी आपूर्ति व्यवस्थालाई सहज र पारदर्शी बनाउन सबै बिक्रेताहरूलाई अनुरोध गरेको छ ।
प्रेस नोटमा ग्याँस सिलेण्डर बिक्रेताहरूले ग्याँस मौज्दात रहेको अवस्थामा ग्याँस लुकाउने, कृत्रिम अभाव खडा गर्ने, तोकिएको मूल्यभन्दा बढी लिने कार्य नगर्न हुन भन्दै ग्याँसको सिलेण्डर बिक्री वितरणको अभिलेख राखी प्रति परिवार १ वटा मात्र सिलेण्डर बिक्री गर्न हुन भनेको छ ।
प्रशासनले विशेष अवस्थामा ग्यास आपूर्तिको सन्दर्भमा प्रशासनलाई समयमै जानकारी दिन पनि भनेको छ । उपभोक्ताहरूको आवश्यकताभन्दा बढी खरिद माग गर्ने तथा भण्डारण गरी बजारमा ग्यास सिलिण्डरको कृत्रिम अभाव खडा हुने अवस्था सिर्जना गर्ने तथा अफवाह फैलाउने कार्य नगर्न चेतावनी दिएको छ । कृत्रिम अभाव पैदा गर्नेहरूलाई तत्काल कानुनी दायरामा ल्याउने प्रशासनले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्