पर्सामा मतदान स्थलको अनुगमन र सुरक्षा परिचालन तीव्र
वीरगञ्ज । पर्साका ४ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा मतदान स्थल अनुगमन र सुरक्षा परिचालन तीव्र पारिएको छ ।
नेपाल–भारत खुला सीमाका कारण निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण मानिँदै आएको यस जिल्लामा सुरक्षा संयन्त्र उच्च सतर्कतामा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
भारतको बिहार राज्यअन्तर्गत पूर्वी र पश्चिम चम्पारणसँग करिब ६५ किलोमिटर खुला सीमा जोडिएको पर्सामा सीमा पारिबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणलाई मुख्य चुनौतीका रूपमा लिइएको छ ।
जिल्लामा कायम १ सय ६७ मतदान स्थलमध्ये स्थल अति संवेदनशील, ६२ स्थल संवेदनशील र श्रेणीमा वर्गीकरण गरिएको छ । सोही आधारमा सुरक्षाकर्मी परिचालन, निगरानी तथा गस्ती व्यवस्थापन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
पर्साका १४ वटै स्थानीय तहका मतदान स्थलको भौतिक संरचना, भौगोलिक अवस्थिति, सुरक्षा संवेदनशीलता, विद्युत्, खानेपानी, शौचालयलगायत आधारभूत सुविधाबारे सूक्ष्म अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान गराउने लक्ष्यसहित सबै मतदान स्थल तयारी अवस्थामा राखिएका छन् ।
“१६७ वटै मतदान स्थल तयारी अवस्थामा छन् । सबै ठाउँमा सुरक्षा निगरानी बढाइएको छ । सडक मार्ग सुरक्षित पाइएकाले फागुनको तेस्रो सातादेखि मतपेटिका र मतदान सामग्री ढुवानी गर्ने तालिका मिलाइएको छ ।”, प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो ।
सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन भारतीय समकक्षीसँग बैठकहरू भइरहेका छन् । प्रमुख जिल्ला अधिकारी दाहाल सहित मुख्य निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मी, नेपाली सेनाका वीरगन्ज स्थित गणका गणपति, सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरी उपरीक्षक द्वय जिल्ला निर्वाचन अधिकारी कार्यालय पर्साकी प्रमुख अनामीका रौनियार लगायतको टोलीले पर्साको भारतसँग जोडिएको दक्षिणी सीमादेखि ठोरीसम्मका मतदान स्थलको अनुगमन गरेको छ ।
यसअघि निर्वाचनको वातावरण निर्माण गर्न जिल्लाका चारै निर्वाचन क्षेत्रमा राजनीतिक दल, उम्मेदवार, जनप्रतिनिधि तथा नागरिक समाजसँग समन्वयात्मक अन्तरक्रिया गोष्ठी आयोजना गरी निर्वाचन लक्षित विविध विषयमा छलफल गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी दाहालले संयुक्त सुरक्षा परिचालन र सीमा समन्वयमार्फत निर्वाचन सुरक्षालाई थप सशक्त र भरपर्दो बनाइएको दाबी गर्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्