शम्भु-निर्मला विशिष्ट साधक सम्मान डा.त्रिपाठी र राणालाई

काठमाडौँ । शम्भु-निर्मला विशिष्ट साधक सम्मान–२०८२ बाट महासमालोचक डा.वासुदेव त्रिपाठी र वरिष्ठ गायिका मीरा राणा सम्मानित हुनुभएको छ ।

वरिष्ठ गायक शम्भु कुमार मिलनको ५औँ वार्षिक स्मृति दिवसको अवसर पारेर शम्भु निर्मला कला साहित्य समाजद्वारा आज काठमाडौँमा आयोजित समारोहमा महासमालोचक डा.त्रिपाठी र वरिष्ठ गायिका राणालाई शम्भु निर्मला विशिष्ट साधक सम्मानबाट सम्मानित गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गा प्रसाद उप्रेती लगायत विभिन्न विशिष्ट महानुभावहरूले नगद सहितको उक्त सम्मान प्रदान गर्नुभयो ।

दुवै सम्मानको राशि जनही नगद २१ हजार १ सय २१ रुपैयाँ रहेको छ ।
स्रष्टाहरूले आफ्ना सृजनाहरूको माध्यमबाट देशलाई देशभित्र र बाहिर प्रदेशमा चिनाउने काम गरिरहेकाले समाजले यस किसिमको सम्मान बर्षेनी प्रदान गर्दै आएको शम्भु निर्मला कला साहित्य समाजकी संस्थापक निर्मला रेग्मीले बताउनुभयो ।

सोही अवसरमा आजै मात्र विद्यावारिधिबाट दीक्षित हुनुभएका रेडियो नेपालका पूर्व निर्देशक वरिष्ठ सङ्गीतकार डा.टीका भण्डारीलाई पनि शम्भु निर्मला कला साहित्य समाजले सम्मान गरेको थियो ।










प्रतिक्रिया राख्नुहोस्