पोखरामा आउँदो बिहीबार सुन्तला महोत्सव हुने

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ को आयोजनामा पोखरामा यही पुस १० गते (बिहीबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ कृस्ती दोपरे हर्राबोट क्षेत्रमा सुन्तला महोत्सव हुन लागेको पोखरा २१ का वडा अध्यक्ष दीपक सुवेदीले बताउनु भयो ।
वडास्तरीय कृषि सञ्जालको समन्वय र पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाको संयोजनमा हुन लागेको उक्त महोत्सवमा विभिन्न प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ । महोत्सवको उद्घाटन पूर्व अवसरमा झ्याँकी सहितको र्याली हुने भएको छ भने त्यसैगरी सुन्तला ग्रेडिङ गर्ने सुन्तला खाने प्रतियोगिता र बढी सुन्तला उत्पादन गर्ने कृषकलाई सम्मान गरिने भएको अध्यक्ष सुवेदीले जनाउनु भयो ।
पोखराको सुन्तलाको पकेट क्षेत्र मानिएको पोखरा २१ कृषि क्षेत्रको सुन्तलाको प्रवर्द्धन गर्न पहिलो पटक सुन्तला महोत्सव हुने तयारी भएको पोखरा महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बताउनु भयो । पोखरामा उत्पादन हुने सुन्तला मध्ये करिब ५०% जसो सुन्तला उत्पादन हुने पकड क्षेत्र कृषि भएको उहाँले दाबी गर्नुभयो । सुन्तला महोत्सवमा सुन्तलाको पहाड बनाउने साथै स्थानीय स्तरमा उत्पादन भएका फलफूल तरकारी महको समेत बिक्री वितरण र प्रदर्शन हुने भएको छ ।
सुन्तलाको पहाड बनाई ग्रेडिङ गर्ने र ग्रेडिङ गरेका सुन्तला प्रति केजी १०० रुपैयाँमा बिक्री हुने तयारी गरिएको समेत कडरियाले जनाउनुभयो । पोखरा २१ कृषि क्षेत्रमा करिब १ हजार ५ सय देखि २ हजार टन सुन्तला उत्पादन हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्