धनकुटा आँखा अस्पतालबाट १८ हजारले लिए सेवा

धनकुटा । धनकुटामा सञ्चालित डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालले एकै वर्ष कोशी प्रदेशका दुर्गम हिमाली र पहाडी जिल्लाका करिब १८ हजार बिरामीलाई उपचार सेवा प्रदान गरेको छ ।
अस्पतालले आर्थिक वर्ष २०८१/०८२ मा १७ हजार ८ सय २५ जनालाई आँखा सम्बन्धी उपचार सेवा उपलब्ध गराएको हो। नेपाल नेत्रज्योती सङ्घले २०७० सालबाट यो अस्पताल सञ्चालनमा ल्याएको हो। दुर्गममा आँखा उपचारको पहुँच वृद्धिको उद्देश्य राखेर सञ्चालित शिविर र बहिरङ्ग सेवाबाट गत वर्ष मोतियाबिन्दु छनौट शिविर, नियमित बहिरङ्ग सेवा, विद्यार्थी आँखा जाँच, निःशुल्क चस्मा वितरण कार्यक्रमबाट १७ हजार ८ सय २५ जनाले स्वास्थ्य लाभ लिएको नेत्रज्योती सङ्घ धनकुटा शाखाले जनाएको छ ।
धनकुटा, भोजपुर, तेह्रथुम, सङ्खुवासभालगायत जिल्लामा सञ्चालित आँखा जाँच तथा शल्यक्रिया शिविरमा बिरामीको प्रारम्भिक जाँच, औषधि वितरण तथा शल्यक्रियाका लागि सिफारिस गरिएको सङ्घका धनकुटा सचिव देवबहादुर खड्काले जानकारी दिनुभयो ।
यो अस्पतालले विपन्न र आर्थिक रूपमा कमजोर बिरामीलाई निःशुल्क उपचार तथा चिकित्सकको टोलीले घुम्ती सेवा समेत उपलब्ध गराउँदै आएको छ।








प्रतिक्रिया राख्नुहोस्