तपाईँ सुन्दै हुनुहुन्छः

हिमालका मुद्दाका विषयमा नेपालले नेतृत्वदायी भूमिका खेल्नुपर्छ: मन्त्री डा परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री डा मदनप्रसाद परियारले हिमाल संरक्षणको मुद्दामा नेपालले विश्व समुदायबीच अग्रणी र नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसका अवसरमा वन तथा वातावरण मन्त्रालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा जलवायु परिवर्तनका असरबाट नेपाल धेरै प्रभावित मुलुकमध्ये एक भएको बताउँदै उहाँले यसका असरसँग जुध्न सामूहिक प्रयासको आवश्यकता औँल्याउनुभयो ।

मन्त्री डा परियारले पर्वतीय क्षेत्रका स्थानीय समुदाय, आदिवासी, जनजाति, दलित र पछाडि परेका समुदायले पर्वत र प्रकृति संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताउनुभयो । “यी समुदायले संरक्षण गरेका प्रकृति स्रोत, साधन र त्यसबाट उत्पादन भएका वातावरणीय सेवाबाट विश्व समुदाय मुख्य गरी तल्लो तटीय क्षेत्रका समुदाय लाभान्वित भएका छन् । तर उपल्लो तटीय क्षेत्रका समुदायले प्रकृति संरक्षणमा गरेको योगदानको कदर हुन सकेको छैन”, उहाँले भन्नुभयो । मन्त्री डा परियारले विश्वव्यापी बढ्दो तापक्रमका कारण हिमनदीहरू पग्लने, हिउँ ताल बन्ने र फुट्ने तथा त्यसको नकारात्मक असर तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने दुई अर्बभन्दा बढी जनसङ्ख्यालाई परेको जानकारी दिनुभयो ।

सबैले मिलेर हिमनदीको संरक्षण, जलस्रोतको दिगो उपयोग, पर्वतीय खाद्य प्रणालीको सुदृढीकरण, वैज्ञानिक अनुसन्धानको विस्तार र जलवायु वित्तमा न्यायपूर्ण पहुँचका लागि साझा रूपमा प्रतिबद्ध भएर काम गर्नुपर्नेमा मन्त्री परियारले जोड दिनुभयो । उहाँले नेपाल सरकारले हिमनदी संरक्षण, जलस्रोतको दिगो व्यवस्थापन, जैविक विविधता, कृषि प्रणाली तथा समुदायको सुरक्षा सुनिश्चित गर्न राष्ट्रिय जलवायु नीति–२०७६, राष्ट्रिय अनुकूलन योजना–२०७९, तेस्रो राष्ट्रिय निर्धारित योगदान–२०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउनुभयो । कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव गोविन्दकुमार कार्कीले कोप–३० मा नेपालले प्रभावकारी रूपमा आफ्ना विषय राख्न सफल भएको बताउनुभयो ।

साथै उहाँले आगामी दिनमा पर्वतीय संरक्षणका विषयमा थप प्राथमिकताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । वन मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले ब्राजिलको बेलेममा हालै सम्पन्न कोप–३० सम्मेलनमा नेपालका तर्फबाट भएको सहभागिता र उपलब्धिका बारेमा अवगत गराउँदै पर्वतीय क्षेत्र संरक्षणका लागि मन्त्रालयले गरेका कामका बारेमा जानकारी दिनुभयो ।

मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले कोप–३० को समीक्षा र उपलब्धिका बारेमा प्रस्तुति गर्दै कोप–३० सम्मेलनमा पर्वतीय मुद्दासम्बन्धी पैरवीमा सफलता प्राप्त भएको बताउनुभयो । मन्त्रालयका पूर्वसहससचिव डा सिन्धुप्रसाद ढुङ्गानाले नेपालको पर्वतीय उत्थानशील रणनीतिको मस्यौदाका बारेमा जानकारी गराउँदै पर्वतीय विषयमा नेपालले नेतृत्व लिनेगरी काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्रालयका उपसचिव दिपा ओलीले नेपालले दुई दशकदेखि पर्वतीय मुद्दा उठाउँदै अन्तर्राष्ट्रिय मञ्चमा स्थापित गर्न सफल भएको बताउनुभयो । कार्यक्रममा युनिसेफका नेपाल प्रतिनिधि एलिस अकङगा, यहाँस्थित स्विट्जरल्याण्ड दूतावासका प्रथम सचिव एन्टोनी, एनवाइसीएझका संयोजक आकृति डोटेललगायतले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असर र समाधानका लागि आगामी दिनमा गर्नुपर्ने कामका बारेमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button