छाउपडी गोठ मुक्त अभियानमा बाजुराका स्थानीय तह
बाजुरा । बाजुराका स्थानीय तहहरु छाउपडी गोठ मुक्त अभियानमा पुन: सक्रिय बनेका छन्।
बाजुरा लगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका गाउँहरूमा सामाजिक कुसंस्कारका रुपमा पुस्तौँदेखि जरा गाडेको छाउपडी प्रथा अन्त्यका लागि यहाँ स्थित स्थानीय पालिकाहरुले छाउगोठ मुक्त अभियानलाई निरन्तरता दिएका हुन्। यसै क्रममा सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिका–८ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ ।

बुधवार एक औपचारिक कार्यक्रमका बीच उक्त वडालाई नगरको सातौँ छाउगोठमुक्त वडाका रूपमा घोषणा गरिएको हो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनसँगै वडा नम्बर ८ लाई छाउगोठमुक्त घोषणा गरिएको नगर उपप्रमुख नन्दा कुमारी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार चार पटकसम्म गरिएको अनुगमनपछि वडाभर रहेका अधिकांश छाउगोठ हटाइएपछि वडालाइनै छाउगोठ मुक्त गरिएको हो। हालसम्म बडिमालिका नगरपालिका भित्रका ७ वटा वडाहरू छाउगोठमुक्त घोषणा भइसकेका छन् भने वडा नम्बर १ र ७ मात्रै गोठमुक्त हुन बाँकी छन् ।

ती वडामा पनि अनुगमनका क्रममा छाउगोठ नदेखिएको भन्दै दुबै वडालाई चालु वर्षभित्र घोषणा गर्ने तयारी भइरहेको र आगामी आर्थिक वर्षसम्ममा बडीमालिका नगरपालिकालाई नै छाउगोठमुक्त नगरपालिका घोषणा गर्ने लक्ष्य राखिएको नगर उपप्रमुख थापाले बताउनुभयो । महिनावारी भएका महिलालाई घरभन्दा टाढा अलग्गै गोठमा राख्ने प्रथा अन्त्य गर्न बडीमालिका नगरपालिकाले नियमित अनुगमन, जनचेतना तथा समुदाय स्तरका कार्यक्रममार्फत अभियान सञ्चालन गर्दै आएको छ ।
बडिमालिका नगरपालिका सँगै जिल्लाका अन्य स्थानीय पालिकाहरू समेत यो अभियानलाई सक्रियताका साथ अगाडि बढाइरहेका छन्।








प्रतिक्रिया राख्नुहोस्