तपाईँ सुन्दै हुनुहुन्छः

एक वर्षको अवधिमा ताप्लेजुङमा ५३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना

ताप्लेजुङ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले एक वर्षको अवधिमा ताप्लेजुङमा ५३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेको छ । इन्सेकले २०८१ साल पुष १६ गते देखि २०८२ मङ्सिर २४ गते सम्ममा ५३ वटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेख गरेको हो । 

इन्सेक ताप्लेजुङका प्रतिनिधि एलिना दियालीका अनुसार सबैभन्दा बढी घरेलु हिंसा रहेको छ । एक वर्षको अवधिमा १७ घटना घरेलु हिंसा रहेका छन् ।  ज्यान मार्ने उद्योगका १० घटना भएको छ । जबरजस्ती करणी र अभद्र व्यवहारका ७—७ घटना भएको प्रतिनिधि दियालीले जानकारी दिनुभयो । कर्तब्यज्यान ४ वटा, जबरजस्ती करणी उद्योग ३ वटा,आपराधिक उपद्रा र हुलदंगा ३ वटा र बहुविवाह २ वटा घटना रहेको बताइएको छ । 

इन्सेकका अनुसार ताप्लेजुङमा सेफ हाउस, महिला कारागार,बाल सुधार गृह नहुँदा हिंसामा परेका महिला बालबालिका र बाल बिज्याँईमा परेकालाई जिल्ला बाहिर बढाउन समस्या हुने उल्लेख गरेको छ । महिला बालिकाहरू आफ्नै नजिकको छिमेकी,नातेदाहरु र चिनजान कै व्यक्तिबाट पीडित बनेको उल्लेख गरिएको छ । ताप्लेजुङको पाथीभरा(मुकुम्लुङ) क्षेत्रको केबलकार विवाद,विद्युत् प्राधिकरणको कमजोरीले ५ जनाको मृत्यु,२ घाइते,फड्के तर्दा २ वर्षीय बालिका खोलमा खसेर ज्यान गएको साथै मानव तस्करीको जालोमा परी भारतको उत्तराखण्ड मृत्यु भएको सोम लिम्बुको शव प्रहरीले उद्धार गरेको, जेन्जी आन्दोलनका क्रममा फुङलिङ नगरपालि,पाथीभरामा रहेको सहायता केन्द्र,निर्माणाधीन अप्पर तमोर हाइड्रो पावरको ब्यारेक सहित विभिन्न पार्टीका कार्यालयहरू तोडफोड र आगजनी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराज शेढाईले मानव अधिकार उल्लङ्घन र आपराधिक घटना फरक विषय भएको भन्दै यस्ता घटनाको गहिरो विश्लेषण गरी नीति निर्माणमा योगदान दिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा ताप्लेजुङका प्रहरी नायव उपरिक्षक वेद प्रसाद गौतम,फुङलिङ नगरपालिकाका उपप्रमुख भिमा देवि ओझा, फुङलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लयागत विभिन्न सरकारी गैरसरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button