तपाईँ सुन्दै हुनुहुन्छः

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार तयारीमा जुटेको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रूपले तयारीमा जुटेको बताउनुभएको छ ।

२२ औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले आम निर्वाचन गराई मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउने सरकारको अभियानलाई सफल पार्न सबैको सहभागिता र सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

उहाँले जेनजी आन्दोलनबाट मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासनको स्थापना र आमजनतालाई रोजगारी, गाँस–वास–कपासको सुनिश्चितताको माग गरेको र ती माग पूरा गर्न सबै एक भएर लाग्न आवश्यक रहेको बताउनुभयो ।

प्रधानमन्त्री कार्कीले नेपालको संस्कृतिलाई पर्यटनसित जोडेर विश्व बजारमा प्रवर्धन गर्न खोजिरहेको सन्दर्भमा हाम्रा मौलिक निधिहरूको जगेर्ना गर्न विशेष ध्यान दिनु आवश्यक रहेको औँल्याउनुभयो । 

प्रधानमन्त्री कार्कीले नागरिकहरुबीच एक आपसमा सद्भाव, पुर्खाहरूको सम्मान र युवाहरूलाई प्रोत्साहन गर्न ज्यापु दिवस तथा यःमरि पुन्हि जस्ता सांस्कृतिक अभियानहरूको आवश्यकता रहेको र यसको निरन्तरताका लागि सरकारबाट निरन्तर सहयोग हुने विश्वास समेत दिलाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button