तपाईँ सुन्दै हुनुहुन्छः

गुल्मीमा यस वर्ष २० करोड ६७ लाखको सुन्तला उत्पादन

गुल्मी । जिल्लामा यस वर्ष रु २० करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा यस पटक जिल्लामा सुन्तलाको उत्पादन घटेको हो । गत वर्ष रु २४ करोड ५० लाखभन्दा बढीको सुन्तला उत्पादन भएकोमा यस पटक उत्पादन ३२ प्रतिशतले घटेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपाने जानकारी दिनुभयो ।

जिल्लामा यस वर्ष रु २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो । सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका यहाँका कृषकले यस पटक अपेक्षा गरेअनुसार सुन्तला उत्पादन नभएको बताएका छन् । सुन्तलाखेतीबाट यहाँका कतिपय कृषकले वार्षिक रु पाँच लाखभन्दा बढीको सुन्तला बिक्री गर्दै आइरहेका छन् ।

जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक रु दश करोड मूल्य बराबरको सुन्तला मात्र जिल्ला बाहिर निर्यात हुने कार्यालयले जनाएको छ । गुल्मीबाट गत वर्ष रु १३ करोड बराबरको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो । सुन्तलाको उत्पादन घट्नुमा बेमौसमी वर्षा, कृषकहरूले बगैँचा व्यवस्थापनमा ध्यान नदिनु, सानैमा फल झर्ने समस्या, रोग÷किराको प्रकोप बढ्नु, सुन्तलालाई उचित मलखाद तथा सिँचाइ नहुनु, समयमा सुन्तलाको बोट काँटछाँट नगर्नु जस्ता मुख्य कारण रहेको कृषि ज्ञान केन्द्रका प्रमुख नरेश धितालले जानकारी दिनुभएको छ ।

यहाँका कृषकहरूले परम्परागत रुपमा सुन्तलाखेती गर्दै आएका छन् । परम्परागत खेतीका कारण समय समयमा सुन्तलाका फेद र जरा कुहिने समस्याका कारण सुन्तलाको उत्पादनमा कमी आउँदै जान थालेको धुर्कोट गाउँपालिकाका–२ पिपलधाराका कृषक शिवलाल खनालले बताउनुभयो । सुन्तला बगैँचामा समयमै मलखादको व्यवस्थापन र सूक्ष्म तत्त्वको प्रयोग गर्ने हो भने उत्पादनमा वृद्धि हुने उहाँको भनाइ छ । जिल्लामा अधिकांश कृषकहरूले सुन्तला बगैँचामा बिजु बिरुवाहरू रहेका छन् । यहाँका सुन्तला बगैँचाहरूमा ९५ प्रतिशतभन्दा धेरै बिजु बिरुवाका बोट छन् । कलमी बोटहरूले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवाको प्रयोग गर्दै आउनुभएको हो ।

जिल्लामा सुन्तलाको कूल ८८५ हेक्टर क्षेत्रफलमध्ये हाल ६१५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुने गर्दछ । व्यावसायिक रुपमा भने सुन्तलाखेती गर्ने कृषकको सङ्ख्या त्यति धेरै छैन । जिल्लाका ९३ वडामध्ये ३६ वडामा सुन्तला जातका फलफूल जोन कार्यक्रम लागू भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका कृषि इन्जिनियर विष्णुप्रसाद पोख्रेलले बताउनुभयो । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत जिल्लाको मदाने गाउँपालिकाको पुर्कोटदह, धुर्कोट गाउँपालिकाको पिपलधारा तथा सत्यवतीको लिम्घा र रेसुङ्गाको अर्खलेलगायतका ठाउँमा चक्लाबन्दी गरी व्यावसायिक सुन्तलाखेती सुरु गरिएको छ ।

गुल्मीको सुन्तला निकै रसिलो र स्वादिलो हुने भएका कारण बजारमा यहाँको सुन्तलाको राम्रो माग हुँदै आएको छ । सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलगायतका जिल्लाबाट व्यापारी घरमै पुगेर सुन्तलाको बगैँचा खरिद गर्ने गर्दछन् । अहिले बजारमा गुल्मीको सुन्तलाको थोक मूल्य रु ४० देखि खुद्रा मूल्य रु १०० सम्म रहेको छ । सुन्तला जात फलफूलको दिगो विकासका लागि कृषि ज्ञान केन्द्रले पनि सुन्तलाका विभिन्न जात पहिचान गरी तिनको व्यवसायीकरण गर्न सुरु गरेको छ ।

कृषि ज्ञान केन्द्र र राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रममार्फत सुन्तलाको उत्पादकत्व वृद्धिका लागि बगैँचा व्यवस्थापनमा जोड दिएको छ । सुन्तलाको बगैँचा सुधारका साथै मलखादको व्यवस्थापन, सिँचाइ र बोट काँटछाँटलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका प्रमुख रमेश जैसवालले बताउनुभयो । जिल्लामा धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटकोे रेमी, सत्यवती र मदानेको भनभने सुन्तलाको मुख्य पकेट क्षेत्रको रुपमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button