तपाईँ सुन्दै हुनुहुन्छः

बजेट प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध अर्थमन्त्री खनाल 

काठमाडौँ । अर्थ मन्त्री रामेश्वरप्रसाद खनालले बजेटको प्रभावकारी कार्यान्वयन, पुनर्निर्माण र राष्ट्रिय गौरव परियोजनाको निरन्तरताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ  ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खनालले रोजगारी सिर्जना, राष्ट्रिय निर्माण तथा सरकारी कोषको दुरुपयोग रोक्न अनावश्यक परियोजना र अवैध रुपमा गरिएको नियुक्ति रोकिएको प्रष्ट पार्नुभयो ।

बैठकमा आ.व. ०८२/०८३ को बजेट कार्यान्वयन माथिको छलफलमा मन्त्री खनालले निर्वाचनका लागि सरकारले बजेट भित्रैबाट श्रोत जुटाउने र त्यसका लागि मित्रराष्ट्रहरूबाट केही आर्थिक सहयोगको प्रस्ताव समेत आएको जानकारी दिनुभयो ।

बैठकमा मन्त्रालयका सचिवहरूले सरकारका ऐतिहासिक संरचना र उपकरण क्षतिग्रस्त भएकाले पूर्व क्षमतामा फर्किन केही वर्ष लाग्ने बत्ताउनुहुँदै बजेट अभावले टुक्रे तथा स्थानीय योजनामा असर परेका जानकारी दिनुभयो ।

सचिवहरूले सहरी करिडोर विकास, ऐतिहासिक स्थल संरक्षण, फोहर व्यवस्थापन, पुनर्निर्माण तथा राहतलाई प्राथमिकता दिइने बताउनुभयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय तथा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थ सहभागी हुनुभएको थियो । 

बैठकमा सांसदहरूले विपद् प्रभावित किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, ग्रामीण सडकहरूको निर्माणमा छुट्टाइएको बजेट कटौती गर्न नहुने, जेनजी आन्दोलनका घाइतेहरूको जीवनयापनमा सहजीकरण सुनिश्चित गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button