तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्कीद्वारा सामाजिक सुरक्षालाई दिगो र समावेशी बनाउने प्रतिबद्धता

काठमाडाैँ। प्रधानमन्त्री सुशीला कार्कीले आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा प्रणाली दिगो, प्रभावकारी र सबैका लागि पहुँचयोग्य बनाउनुपर्नेमा जोड दिनुभएकाे छ।

आठौँ सामाजिक सुरक्षा दिवसको अवसरमा सामाजिक सुरक्षा कोषले आज प्रधानमन्त्री कार्यालयमा आयोजना गरेको कार्यक्रमका प्रधानमन्त्री कार्कीले मुलुकको सामाजिक सुरक्षा अन्तरपुस्ता लागत सन्तुलन र समतामूलक बनाउनको लागि योगदानमा आधारित सामाजिक सुरक्षाको प्रभावकारी कार्यान्वयनको अपरिहार्यता रहने विचार व्यक्त गर्नुभयो । 

सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा सरकारको रचनात्मक सहयोग रहने स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री कार्कीले आफ्ना श्रमिक–कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नभई शानको रूपमा लिन पनि रोजगारदाताहरूलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री कार्कीले श्रमिकले र रोजगारदाताले जम्मा गरेको रकम सार्थक परिणाम दिने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा कृष्णहरी पुुष्करले श्रमबजारलाई व्यवस्थित गर्दै मुलुकको वित्तीय क्षेत्रलाई पनि योगदान पुग्ने बताउनुभयो । 

त्यसै गरी कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले हालसम्म सामाजिक सुरक्षा कोषमा २६ लाखभन्दा बढीलाई कोषमा आबद्ध गराएको जानकारी दिँदै अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई पनि समेट्न सुरु गरिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घ अध्यक्ष चन्द्र ढकालले साना तथा मझौला उद्योगमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्नुपर्नेमा जोड दिनुभयो । सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा  सामाजिक सुरक्षा कोषमा सबैभन्दा बढी योगदान गर्ने सञ्चार, शिक्षा स्वास्थ्य र निजी व्यावसायिक संस्थालाई कोषले प्रशंसा पत्र पनि प्रदान गरेको छ । 

यस अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालयअन्तर्गत रहेका सञ्चार संस्थाहरू सार्वजनिक सेवा प्रसारण नेपाल, रासस, गोरखापत्र, प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समितिका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने सहमति पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट कायममुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले  सहमति पत्रमा हस्ताक्षर गर्नुभयो । 

आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीबाट व्यक्त मन्तव्यको पुर्ण पाठ

प्रतिक्रिया राख्नुहोस्

Back to top button