दलित समुदायका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख
नेपालगञ्ज । बाँकेमा दलित समुदायका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख भएका छन् । आफैँ पेशा, व्यवसाय सुरु गरेर उद्यमशीलताको मार्गमा अघि बढेका दलित समुदायका महिलाहरूले आयआर्जनको आकार पनि बढाउँदै लगेका छन् । डुडुवा ५ की रोशनी परियारले एउटा सिलाई मेसिनबाट सुरु गर्नुभएको उद्यमशीलताको यात्रा अहिले व्यावसायिक टेलरिङका रुपमा अघि बढेको छ । दलित महिला संघ (फेडो) ले एउटा सिलाई मेसिन दिएपछि परियारले सामान्यरुपमा आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो । अहिले उहाँ डुडुवा गाउँपालिकाकै एक जना उत्कृष्ट सिलाई प्रशिक्षकका रुपमा उदाउनुभएको छ । त्यससँगै उहाँको व्यवसाय पनि फस्टाएको छ ।

खजुरा २ की सुशिला सुनारले पनि फेडोको सहयोगमा आयआर्जनमा टेवा पुगोस् भन्ने उद्देश्यले केही बर्ष अघि गड्यौला मल र च्याउ खेती सुरु गर्नुभएको थियो । सुनारले यसमा सफलता हासिल गर्दै अघि बढ्नुभएको छ । यो काममा उहाँलाई श्रीमान् मोहनलालको पनि भरपुर साथ र सहयोग छ । सुशीलाले गड्यौला मल उत्पादनसँगै विभिन्न जातका तरकारी फलाएर राम्रो आयआर्जन गरिरहनुभएको छ । यस्तै सफलताको कथा बैजनाथ १ की पदमकला कामीको पनि छ । जसले फेडोले सहयोग गरेर एउटा बाख्राबाट व्यवसाय सुरु गरेर अहिले फार्म नै सञ्चालन गरिरहनुभएको छ । यसले उहाँको आयआर्जन र आत्मनिर्भरतामा टेवा पुगेको छ । यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै पात्र छन्, जसले आत्मनिर्भरतालाई कसिलो बनाउँदै लगेका छन् ।
परियार, सुनार र कामीलाई दलित महिला संघ बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रममा सम्मान समेत गरेको छ । संघका अध्यक्ष निर्मला सुनार र प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख सीता कार्कीले उहाँहरूलाई सम्मान गर्नुभएको थियो । सामाजिक परीक्षण कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । प्रमुख अतिथि कार्की, दलित महिला सङ्घकी केन्द्रीय सचिव हिमा सुनार, राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज प्रमुख द्वारिका अधिकारी, बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाकी सामाजिक विकास समिति संयोजक कृष्णा विक, डुडुवा गाउँपालिकाकी लिलावती यादव, जिल्ला प्रहरी कार्यालय बाँके महिला सेलका प्रहरी सहायक निरीक्षक चन्द्रिका खनाल, गैरसरकारी संस्था महासङ्घ बाँकेका उपाध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले दलित समुदायका महिलाहरूको सफलताको कथा सुनेर खुसी लागेको उल्लेख गर्नुभयो ।
फेडोले सामाजिक जागरण, सामाजिक न्याय र दलित समुदायका महिलाको सशक्तीकरणका लागि काम गरिरहेको बताउनुभयो । संस्थाकी उपाध्यक्ष तुलसी सुनारले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक दिलिशा गौतमले गर्नुभएको थियो । त्यसक्रममा सामाजिक परीक्षक हेमराज भट्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाले आजै आफ्नो साधारण सभा पनि सम्पन्न गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्