तपाईँ सुन्दै हुनुहुन्छः

सिराहामा थपिए ११ हजार ४३७ मतदाता

सिराहा । सिराहामा ११ हजार ४३७ नयाँ मतदाता थपिएका छन् ।  

पछिल्लो पटक तोकिएको मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रवार सम्ममा सो सङ्ख्यामा मतदाता थपिएका हुन् ।

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्ने गरी समय निर्धारण गरेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । 

जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख गणपैत यादवका अनुसार जिल्ला निर्वाचन कार्यालयबाट नौ हजार १३७ र राष्ट्रिय परिचयपत्रको माध्यमबाट दुई हजार २९० जनाले नाम दर्ता गराएका हुन् । यो सहित अब जिल्लामा मतदाताको सङ्ख्या चार लाख ४३ हजार ४० पुगेको छ । 

पछिल्लो मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न योग्य मतदाताको विवरण छुट्याउनलाई भने केही समय लाग्ने निमित्त प्रमुख यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button