मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरोधमा सात दलको धर्ना जारी
जनकपुरधाम । मधेस प्रदेश सरकार गठन प्रक्रियाको विरोध गर्दै सात राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले मधेश प्रदेश भवनको मूल गेटमा धर्नालार्ई आज पनि निरन्तरता दिएको छ ।

मधेस भवन प्रवेश गर्ने मूल गेट अगाडि सात दलका प्रदेशसभा सदस्य तथा नेता कार्यकर्ताहरू राष्ट्रिय झण्डा लिएर शान्तिपूर्ण धर्नामा बसेका छन् । सडकमा नै धर्ना दिएका कारणले सो सडक भएर सञ्चालन हुने गरेको ठूला सवारी सञ्चालनमा अवरोध भएको छ ।
गत कार्तिक २२ मा विश्वासको मत पाउने अवस्था नदेखेपछि तत्कालीन मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा दिनु भएपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई नियुक्त गर्नु भएपछि सात दल आन्दोलनमा उत्रेका छन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार निर्माणको सम्भावना हुँदा हुँदै प्रदेश प्रमुखले ३ मा गएको भन्दै सात दल आन्दोलनमा उत्रेका छन् । यसै बीच सात दलको तर्फबाट सर्वोच्च अदालतमा दिइएको मुद्दा माथिको सुनुवाई आज हुन लागेको छ ।








प्रतिक्रिया राख्नुहोस्