लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा कार्य सम्पादनमा पहिलो

नेपालगञ्ज । लुम्बिनी प्रदेशमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको छ । योसँगै पाल्पा कार्य सम्पादनमा लगातार तेस्रो पटक पहिलो स्थान कायम राख्न सफल भएको हो । पाल्पाले ७३ दशमलव ५६ प्रतिशत अङ्क हासिल गरेको छ ।
आर्थिक वर्ष ०७९÷०८० र ०८०÷०८१ मा पनि पाल्पा पहिलो भएको थियो । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा देउखुरीमा भएको आर्थिक वर्ष ०८१÷०८२ को प्रदेश स्तरीय वार्षिक समीक्षा गोष्ठीमा स्वास्थ्य कार्यालय पाल्पा पहिलो भएको घोषणा गरिएको हो ।
स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुक प्रसाद पोखरेलले सेवाको गुणस्तर, डाटा व्यवस्थापन, मानव संशोधन दक्षता, समुदाय सहभागिता, पूर्वाधार र कार्यक्रम कार्यान्वयन जस्ता सूचकहरूलाई प्रभावकारी गराउँदा उत्कृष्ट भएको बताउनुभयो ।
यस्तै दोस्रो भएको रोल्पा स्वास्थ्य कार्यालयले ७१ दशमलव ०५ प्रतिशत र तेस्रो भएको रुकुम पूर्व स्वास्थ्य कार्यालयले ७० दशमलव ६४ प्रतिशत अङ्क ल्याएका छन् ।
यस्तै गुल्मी चौथौँ, प्युठान पाँचौँ, अर्घाखाँची छैटौँ, बाँके सातौँ, नवलपरासी पश्चिम आठौँ, रुपन्देही नवौँ, दाङ दसौँ, बर्दिया एघारौँ र कपिलवस्तु बाहैं भए । लगातार तीन वर्ष एघारौँ स्थानमा पर्ने बाँकेले भने यो पटक सुधार गरेको छ । अहिले सातौँ स्थानमा परेको हो ।
उत्कृष्ट हुनेहरूलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारु र स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले प्रमाणपत्रसहित सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्